धरान: सुर्य नेपाल गल्फ टुर अन्तर्गत धरान गल्फ कोर्षमा चार दिने इष्टर्न ओपन गल्फ प्रतियोगिता शुरु भएको छ ।

पार ७० को कोर्षमा शुरु भएको प्रतियोगिताको पहिलो दिन धरानका युवा व्यवसायिक गल्फर निरज तामाङ अग्रस्थानमा छन् । पहिलो दिनको १८ होलको खेल सकिदा ३ अण्डर ६७ स्कोर गरेका निरज अग्रस्थानमा रहन सफल भएका हुन् । धरानका २६ बर्षीय खेलाडी निरज २ बर्षअघि प्रो टर्न भएका हुन् । उनी तेह्रौ सागमा नेपाललाई गल्फ खेलमा स्वर्ण जिताएका खेलाडी पनि हुन् । निरजले फ्रन्ट नाइनमा १ अण्डर ३५ कार्ड बनाए भने ब्याक नाइनमा २ अण्डर ३२ को कार्ड बनाए । 

  यसैगरि, सुर्यप्रसाद शर्मा इभन पार ७० स्कोर गर्दै दोस्रो स्थानमा छन् । उनले फ्रन्ट नाइनमा ३ अण्डर ३३ को कार्ड बनाए । नेपालका नम्बर वान धराने खेलाडी शुक्रबहादुर राई र सुनसरी बराहक्षेत्रकै खेलाडी टंकबहादुर कार्की समान १ ओभर ७१ स्कोरका साथ तेस्रो स्थानमा छन् । प्रतियोगितामा ३ ओभर समान ७३ स्कोरका साथ भुवन नगरकोटी, धनबहादुर थापा, रवि खड्का र सञ्जय लामा संयुक्त पाँचौ स्थानमा छन् । 

एमेच्योरतर्फ तीन गल्फर अग्रस्थानमा 

eastern-golf2

प्रतियोगितामा एमेच्योरतर्फ तीन खेलाडी अग्रस्थानमा छन् । धरानका गल्फर युवराज भुजेल, जितेन्द्र राई र सद्भाव आचार्य समान ५ ओभर ७५ स्कोरका साथ अग्रस्थानमा छन् । एमेच्योरतर्फ समान ६ ओभर ७६ स्कोरका साथ जिवन राई र बुद्धिमान सुनुवार दोस्रो स्थानमा छन् । 

नेपाल प्रोफेस्नल गल्फर एशोसिएशनले आयोजना गरेको प्रतियोगितामा ३० जना व्यवसायिक र १८ जना एमेच्योर खेलाडी सहभागी छन् । चार दिने प्रतियोगितामा ३ दिन मुख्य स्पर्धा हुनेछ भने अन्तिम दिन प्रो–एम म्याच हुनेछ ।

मुख्य स्पर्धाको विजेताले ट्रफीसहित नगद १ लाख ३५ हजार पाउनेछन् । दोस्रो हुने गल्फ खेलाडीले ८८ हजार र तेस्रो हुनेले ६५ हजार नगद पाउनेछन् । दोस्रो दिन ३६ होलको खेल सकिएपछि कट बनाएका २१ जना व्यवसायिक र ६ जना एमेच्योर खेलाडीहरु मात्र तेस्रो दिनको लागि छनौट हुनेछन् ।