धरान: प्रधानमन्त्री शेरबहादुर देउवा आज धरान आउदैछन् । 

हेलिकप्टरमार्फत आज बिहान १० बजे प्रधानमन्त्री देउवा धरान आईपुग्ने मेयर तिलक राईको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीको हेलिकप्टर धरान १६ स्थित स्टेडियममा ल्याण्ड गर्ने बताइएको छ । प्रधानमन्त्री आउने भएपछि धरानको सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रधानमन्त्रीको कार्यक्रम रहने स्थान, त्यहाँसम्मको चोक र सडकमा प्रहरी, सशस्त्र परिचालन गरिएको छ । 

नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले शुरुमा धरान २ स्थित रहेको कांग्रेस सुनसरी क्षेत्र नं. १ को नवनिर्मित पार्टी कार्यालय भवनको उद्घाटन गर्ने कार्यक्रम छ । त्यसपछि धरान ६ पानवारीमा निर्माण सम्पन्न भएको फोहोर प्रशोधन केन्द्रको उद्घाटन गर्न प्रधानमन्त्री देउवा त्यहाँ पुग्नेछन् । 

budhha-chowk

त्यसपछि, प्रधानमन्त्री देउवाले धरान ८ स्थित तीनकुने सुन्दर वस्ती विकास आयोजनामा बन्दै गरेको स्मार्ट बसपार्कको अवलोकन गर्नेछन् । बसपार्क अवलोकन पश्चात प्रधानमन्त्री देउवाले धरान १२ स्थित निर्माण भएको प्राविधिक शिक्षालय भवनको उद्घाटन गर्ने कार्यक्रम छ । 

यस्तै, दिउँसो १ बजे धरान स्थापना दिवसको अवसरमा आयोजित धरान डे उत्सवको औपचारिक कार्यक्रमको उद्घाटन प्रधानमन्त्री देउवाले गर्नेछन् । यो उत्सव धरान १२ स्थित पब्लिक हाईस्कुलको प्रांगणमा हुनेछ । धरान उपमहानगरपालिकाले धरान स्थापना दिवस (धरान डे) को अवसरमा आज धरान क्षेत्रमा सार्वजनिक विदासमेत दिएको छ । धरानमा आजदेखि २३ गतेसम्म तीन दिनसम्म धरान डे मनाउने निर्णंय गरेको छ ।