धरान:मितेरी डेभलपमेन्ट बैंकले गत आर्थिक बर्षमा १४ करोड ५६ लाख बढी मुनाफा गरेको छ । 

बैंकले आफ्नो १६ औं साधारणसभा सम्पन्न गर्ने क्रममा बुधबार गत आर्थिक बर्ष २०७७/०७८ मा १४ करोड ५६ लाख ४७ हजार ८४० रुपैयामा मुनाफा गरेको जानकारी दिएको हो । बैंकका अनुसार साधारण सभाले नाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको १३.३० प्रतिशतको दरले हुने बोनस सेयर रकम १० करोड ६० लाख ५१ हजार १३२ रुपैया प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ ।

यस्तै, बोनस शेयर कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.७० प्रतिशतले हुने रकम ५५ लाख ८१ हजार ६३८ रुपैया पनि दिने प्रस्ताव पनि पारित भएको बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीप्रसाद वस्तीले बताए । बैंक गत आर्थिक वर्षमा ५ अर्ब ४९ करोड २० लाख ४९ हजार १ सय २० रुपैयाँ बचत गर्न सफल भएको छ भने ४ अर्ब ९४ करोड ९४ लाख ९१ हजार सात सय ७० रुपैयाँ लगानी गरेको पनि जनाएको छ।

miteri1

उक्त साधारणसभाले मितेरी र अन्य कुनै बैंक तथा बित्तिय संस्था एक आपसमा गाभ्ने र गाभिने सम्बन्धी सम्पुर्ण प्रक्रिया अवलम्बन गरि कार्य अघि बढाउन सञ्चालक समिति तथा यस अन्गर्ततको मर्जर समितिलाई अख्तियारी प्रदान गर्ने बिशेष प्रस्ताव पनि पारित गरेको छ । मर्जर प्रक्रियामा चलअचल सम्पत्ति र दायित्व तथा कारोबारको मुल्यांकन गर्न मान्यता प्राप्त मुल्यांकनकर्ता नियुक्त गर्ने, उनको पारिश्रमिक तय गर्ने लगायत सम्पुर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने पनि प्रस्ताव पारित भएको छ । 

सोही साधारणसभाले सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालकमा शम्भुप्रसाद श्रेष्ठ, ललितकुमार अग्रवाल र बन्दना बैधलाई निर्विरोध चयन गरेको छ । बैङ्कको सुनसरी, मोरङ, झापा, उदयपुर र धनकुटा गरि ५ जिल्लामा १८ बटा शाखा रहेको अध्यक्ष किसन मास्केले जानकारी दिएका छन् । यो बैंकको प्रधान कार्यालय धरानमा रहेको छ ।