धरान: २२ औं गोधुली रनिङ कप फुटवल प्रतियोगितामा धरानको वडा नं १४ र वडा नं ८ सेमीफाइनल प्रवेश गरेको छ । 

धरान १६ स्थित रंगशालामा जारी प्रतियोगितामा आज बिहान भएको २ खेलमा जित हात पार्दै वडा १४ र ८ सेमीफाइनल प्रवेश गरेको हो । वडा नं १४ गोधुलीको डिफेन्डिङ च्याम्पियन टोली हो । 

बिहान ८ बजे भएको पहिलो खेलमा वडा १४ ले वडा नं १५ लाई पराजित गर्यो । निर्धारित समयको खेल र टाइब्रेकर पनि बराबरी भएपछि खेल सडन डेथमा पुगेको थियो । सडन डेथमा वडा १४ का सुवास वसन्त तामाङले गोल गर्दा वडा १५ का सुवास मगर गोल गर्न असफल भए । 

wada-14

निर्धारित समयको खेलमा वडा १५ ले अग्रता लिएको थियो । पहिलो हाफको ५ मिनेटमा पेनाल्टी एरियामा वल हातले छोएपछि वडा १५ ले पेनाल्टी अवसर पायो । पेनाल्टीमा मदन लिम्बुले गोल गरेका थिए । तर, वडा १४ का सुसन तामाङले २८ औं मिनेटमा गोल गर्दै खेल बराबरी बनाए । निर्धारित समयको खेल बराबरी भएपछि टाइब्रेकर भएको थियो । तर, टाइब्रकेरमा पनि बराबरी भएपछि खेल सडन डेथमा पुगेको थियो । उक्त खेलमा वडा १४ का गोलकिपर राजिव खड्का म्यान अफ दि म्याच घोषित भए । 

यस्तै, बिहान ११ बजे भएको दोस्रो खेलमा वडा नं ८ ले वडा नं १८ लाई १ ० गोलअन्तरले पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको छ । वडा ८ का राजन थापा मगरले ३५ औं मिनेटमा गरेको गोल निर्णायक भयो । उक्त खेलको म्यान अफ दि म्याच पनि गोलकर्ता राजन घोषित भएका थिए। 

wada-8

प्रतियोगिताको थप २ वटा क्वार्टरफाइनल खेल पनि आज नै हुनेछ । अहिले तेस्रो क्वार्टरफाइनल खेल वडा नं १६ र १९ बीच दिउँसो १ बजेदेखि भइरहेको छ भने दिउँसो ३ बजे वडा ११ र वडा १३ बीच अन्तिम क्वार्टरफाइनल खेल हुने आयोजकले जनाएको छ ।