धरान: धरान मोडल कलेजमा यसै शैक्षिक सत्रदेखि स्नातक तहमा बिएसडब्ल्यु (ब्याचलर इन सोसियल वर्क) संकाय पढाई हुने भएको छ ।

कलेजले मंगलबार होटल सन्ध्या इनमा पत्रकार सम्मेलन गर्दै त्रिभुवन विश्वविद्यालयबाट स्वीकृति लिएर स्नातक तहमा सोसियल वर्क शैक्षिक कार्यक्रम शुरुवात गर्न लागेको जानकारी दिएको हो । शैक्षिक कार्यक्रमका कोअर्डिनेटर मोहन श्रेष्ठले धरानमा पहिलो पटक बिएसडब्ल्युको अध्यापन शुरु हुन लागेको बताए । ‘बिएसडब्ल्यु जीवन उपयोगी रहेछ, समाजको लागि एकदमै महत्वपुर्ण रहेछ । स्कोप रहेछ,’उनले भने,‘हामीसँग थुप्रै सामाजिक समस्या छन्, त्यसलाई बुझ्न, पत्ता लगाउन र विश्लेषण गर्नसक्ने जनशक्ति उत्पादन गर्न यो बिषयले सहयोग गर्नेछ ।’

श्रेष्ठले यो बिषयको बारेमा धरानका व्यवसायी, शिक्षासँग सम्बन्धित व्यक्तिहरु, सामाजिक संघसंस्थाहरुसँग छलफल गर्ने योजना पनि रहेको बताए । यो बिषय ४ दिन कक्षामा पढाई हुने र २ दिन सम्बन्धित ठाउँमा गएर कार्य अनुभव गर्नुपर्ने बताए । पढ्न आउने विद्यार्थीहरुलाई कुनै न कुनै क्षेत्रमा अन द जब ट्रेनिङ गराउनुपर्ने पनि उनले बताए । ‘यो बिषय अत्यन्तै व्यवहारिक छ,’उनले भने ।

बिषय विज्ञ तुलसी आचार्यले ४ दिन कोर्ष पढ्ने र २ दिन फिल्ड वर्क गर्ने भएकोले विद्यार्थीहरुलाई इन्टरनेशनल एक्स्पोजर गराउन सक्ने बताए । बर्षमा एक पटक सोसियल क्याम्प जानुपर्ने यो बिषयको महत्वपुर्ण पक्ष रहेको पनि उनको भनाई थियो । ‘विद्यार्थीहरु सोसियल क्याम्पमा जादा उनीहरुले त्यस ठाउँ, सामाजलाई बुझ्ने र उनीहरुको क्यारियरलाई राम्रो हुनेछ । यो कार्यक्रम उनीहरुको महत्वपुर्ण बुझाई हुनेछ,’उनले भने,‘कक्षामा पनि प्रत्येक दिन व्यक्तिगत र समुहगत प्रस्तुती पनि दिनुपर्ने हुन्छ ।’

dharan-model-collage

यो बिषय पढेपछि विभिन्न क्षेत्रमा अवसर पाउने उनको भनाई थियो । लिडरसिप, पब्लिक स्पिचलगायत पनि कोर्षमा नै समावेश भएकोले विद्यार्थीहरुको समग्र व्यक्तित्व विकास हुने उनको भनाई थियो । कलेजका प्रिन्सिपल प्रविण राईले बिएसडब्ल्यु समसामयिक बिषय भएकोले महत्वपुर्ण भएको बताए । उनले कलेजमा पढ्दा पढ्दै प्राक्टिकल पनि हुने भएकोले यो व्यवहारिक, व्यवसायिक र करिअर बन्ने बिषय भएको पनि बताए । 

उनले कलेजको बारेमा पनि जानकारी दिदै धरान मोडेल कलेज २०६७ सालदेखि सञ्चालनमा आएको बताए । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएर बिए र बिबिएस कार्यक्रम चलिरहेको पनि उनले बताए । यो बर्षदेखि त्रिविबाट सम्बन्धन प्राप्त कौशिकी क्याम्पसलाई धरायन मोडल एकेडेमीमा समायोजन गरेर ४ बर्षे तथा १ बर्षे बिएड कार्यक्रम सञ्चालन गरिरहेको बताए । हालसम्म २ हजार बढी विद्यार्थीहरुलाई दिक्षित गरेको र कलेजको उत्पादनहरु देश तथा विदेशमा स्थापित भइसकेको पनि प्रिन्सिपल राईले जानकारी दिए । 

उनका अनुसार बिएसडब्ल्यु पढ्न ४ बर्षे बार्षिक प्रणालीमा अध्ययन हुनेछ भने ८ सय पुर्णांकको अध्यापन हुनेछ । प्सल टु वा सो सरहको तहमा जुनै संकायबाट डि प्लस ग्रेड ल्याएर उतीर्ण गरेकाले अध्ययन गर्न पाउनेछन् भने शुल्क पनि सहुलित हुने प्रिन्सिपल राईले बताए । 

अध्यापनक डा.भवानीशंकर भटट्राईले यो बिषयको महत्व बुझेर धरानका विद्यार्थीहरु इटहरी र काठमाण्डौंसम्म पढ्न गएको जानकारी गराए । आकर्षण बढ्द गएकोले धरानका विद्यार्थीहरुलाई आफ्नै ठाउँमा पढ्न पाउने गरि मोडल कलेजमा अध्यापन शुरुवात गरिएको उनले बताए । ‘धरानको विद्यार्थीहरु इटहरी र काठमाण्डौंसम्म पढ्न गएको पायौ, अब धरानमै पढ्ने अवसर पाउनेछन्,’उनले भने ।

भिडियो :