धरानः महेन्द्र बहुमुखी क्याम्पस धरानका बि.बि.ए. सेकेण्ड सेमेस्टारका विद्यार्थीहरुले एक महिने  सिम्याट मोक टेष्ट  सञ्चालन गरी परीक्षा शुल्क बापत संकलन भएको रकम मृगौला रोगीलाई सहयोग गरेका छन् । 

विद्यार्थीहरुले धरान १५ का ३२ बर्षीया मृगौला रोगी ध्रुव राईलाई सहयोग गरेका हुन् । प्रत्येक बर्ष बिबिए सेकेण्ड सेमेस्टरका विद्मार्थीहरुले एक महिने सिम्याट टेष्ट गर्दै आएका छन् । यस बर्ष पनि मंसीर २५ गते देखि पुष २३ गतेसम्म हप्ताको प्रत्येक शनिबार टेस्ट परीक्षा लिने र परीक्षा शुल्क स्वरुप एक सय प्रत्येक विद्मार्थीबाट संकलन गरिएको थियो । विद्यार्थीहरुलाई पढाईसँगै सामाजिक कार्यमा पनि सहभागिता गराउने उद्देश्यले दुवै मृगौला फेल भएर उपचाररत राईलाई सहयोग गरिएको हो । उनीहरुले १० हजार १०५ रुपैया अर्थिक सहयोग गरेका छन् ।

बिबिए सेकेण्ड सेमेस्टारका कक्षा प्रतिनिधि बिमल शर्माले यो रकम धेरै नभए पनि विद्मार्थीहरु पढाइसंगै सामाजिक कार्यमा पनि सहभागिताहुन प्रोत्साहन मिल्ने बताए । साथै, आउने व्याजका विद्यार्थीहरुलाई पनि मार्गदर्शन हुने र थोपा थोपा मिलेर समुन्द्र बने जस्तै बिरामीलाई उपचारमा एक थोपा टेवा पुग्ने उनले बताए । परीक्षा सञ्चालन र आर्थिक संकलनको नेतृत्व सन्देश राई, बिमल शर्मा, गणेश शाह र मन्दीप पराजुलीले गरेका थिए।