धरान: माघ ४ गते बर्जु महोत्सवमा आगजनी तथा तोडफोड भएको घटनामा भारतका भोजपुरी सिनेमाका कलाकार खेसरीलाल यादव र आयोजक संस्थाबीच क्षतिपूर्तिको बिषयमा सहमति भएको छ ।

कलाकार यादवको प्रतिनिधि र महोत्सव आयोजक संस्था बर्जु सामुदायिक विकास केन्द्रबीच छलफल भएर क्षतिपूर्ति रकममा सहमति भइसकेको बर्जु गाउँपालिकाका अध्यक्ष रघुनन्दन चौधरीले जानकारी दिए । उनका अनुसार दुई पक्षबीचको छलफलबाट ३६ लाख क्षतिपूर्ति लिने दिनेमा सहमति भएको छ । खेसरीलालले शुरुमा डेढ करोड भारतीय रकम क्षति भएको दाबी गरेका थिए । ‘शुरुमा डेढ करोड आइसीको दाबी गरेको थियो तर दुर्घटना भएको र कमीकमजोरी उहाँहरुको पनि भएकोले होला त्यो दाबी छोड्नुभयो,’अध्यक्ष चौधरीले भने,‘उहाँहरुबीच ३६ लाखमा सहमति भयो ।’

अध्यक्ष चौधरीका अनुसार द्धिपक्षबीचमा क्षतिपूर्तिको रकम २ महिनाभित्र सम्बन्धित पक्षलाई बुझाउने सहमति भएको छ । एउटा अनटेष्ट गाडी भएकोले त्यसको मुल्य मिलाइदिन खेसरीलालका प्रतिनिधिले आग्रह गरेको र सोही अनुसार सहमति भएर टुंगो लागेको उनले बताए । ‘एउटा अनटेष्ट गाडी थियो, त्यसको दाम मिलाइदिनु, अरु दाबी गदैनौ भनेपछि सहमति भयो,’ गाउँपालिका अध्यक्ष चौधरीले भने । 

साउण्ड सिस्टमलाई १५ लाख 

गाउँपालिका अध्यक्ष चौधरीका अनुसार उक्त घटनामा क्षति भएको साउण्ड सिस्टम व्यवसायीलाई पनि १५ लाख क्षतिपूर्ति दिने सहमति भएको छ । क्षति भएको अधिकांश सामानहरु मर्मत गरेर चलाउन सकिने भएको देखिएकोले साउण्ड सिस्टमको १५ लाखमा क्षतिपूर्तिमा द्धिपक्षबीच सहमति भएको अध्यक्ष चौधरीले जानकारी दिए । ‘धेरै सामान मर्मत गरेर चलाउन सकिने रहेछ । साउण्ड सिस्टमको गोदाममा नै गएर निरीक्षण गरेपछि १५ लाखमा कुरा टुंगियो, अरु सामान मर्मत गर्ने सहमति छ,’ अध्यक्ष चौधरीले भने ।

क्षतिपूर्तिको अभिलेख नपाएसम्म आयोजक संस्थाको गतिविधि निलम्बन

cdo-barju

यसैबीच, सोमबार सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले एक प्रेस विज्ञप्ती जारी गर्दै आयोजक संस्थाले आगजनी तथा क्षति पुगेको व्यक्ति, संस्थाप्रति जिम्मेवार भई क्षतिपूर्तिबारे कानुनले दाबी पुगेको दुई पक्षबीच समझदारी वमोजिम लिने दिने गरि अभिलेख बर्जु गाउँपालिकामा राख्नुपर्ने जनाएका छन् । अभिलेखको बोधार्थ जिल्ला प्रशासनमा पनि राख्नुपर्ने र उक्त अभिलेख प्राप्त नभएसम्म केन्द्रको गतिविधिहरुलाई निलम्बनमा राख्ने पनि प्रजिअ यादवले विज्ञप्तीमा खुलाएका छन् ।

यस्तै, उक्त घटनामा २ जना प्रहरी घाइते भएको र ईलाका प्रहरी कार्यालय दुहबीको गाडीमा पनि सामान्य क्षति पुगेकोले कानुनी कारबाही अघि बढ्ने पनि प्रजिअ यादवले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । कोरोना संक्रमण नियन्त्रणबारे जारी आदेश सबैले पालना गर्न कर्तव्य हुने भनिएको विज्ञप्तीमा घटना बिशेषले छिमेकी मित्रराष्ट भारतसँग जोडेर हुनसक्ने दुष्प्रचार निवारण गर्न स्थानीय प्रशासनले आवश्यक पलह गर्ने पनि उल्लेख छ ।

के हो घटना ?

बर्जु गाउँपालिकामा पुष २३ गतेदेखि बर्जु महोत्सव आयोजना भएको थियो । कोरोना संक्रमण बढ्दै गएपछि सरकारले २५ जना भन्दा बढी भिडभाड हुन नदिने निर्णय गरेसँगै सुनसरी प्रशासनले पनि सिसिसिएमसिको निर्णय वमोजिम आदेश जारी गरेको थियो । उक्त आदेश सबै स्थानीय तहमा पठाइएको थियो । तर, आदेश विपरीत बर्जु महोत्सव जारी रह्यो ।

गुनासो आएपछि जिल्ला प्रशासनले माघ २ गते नै महोत्सव सञ्चालन गर्न दिइएको अनुमति खारेज गर्दै महोत्सव रोक्न गाउँपालिकालाई पत्राचार गरेको थियो । तर, आयोजकले भने महोत्सवलाई जारी नै राखेको थियो । आयोजकले माघ ४ गते भारतको भोजपुरी सिनेमाका चर्चित कलाकार खेसरीलाल बोलाएको थियो । उनी आउने भएपछि आयोजकले लाखौंको टिकट बिक्री गरेको थियो । तर, प्रशासनले कलाकार खेसरीलाललाई महोत्सवस्थलमा आउन दिएन । उनलाई विराटनगरमा नै रोकेर राखेको थियो । 

खेसरीलाल आउने भनेर टिकट काटेर गएका दर्शकहरु उनी नआउने थाह पाएपछि आक्रोशित हुदै तोडफोडमा उत्रिएका थिए । त्यसक्रममा आगजनी पनि भएको थियो भने प्रहरीले भिड तितरबितर पार्न अश्रुग्याँससमेत प्रहार गर्नुपरेको थियो ।