धरान: धरान ६ पानवारी घर भएका १९ बर्षीय सुनिल लिम्बु शुक्रबार साथीहरुसँग कोशी ब्यारेज पुगेर फर्कदै थिए । 

करिब ७ बजेरित उनीहरुको टोली कोशी राजमार्गको धरान इटहरी सडकखण्डमा पर्ने चारकोशे जंगल पानीपिया मास्तिर थिए । अधिकांश साइक्लिष्टहरु अगाडि गइसकेका थिए । थकानले पछाडि परेको सुनिल विस्तारै साइकलको पाइडल चलाउदै थिए । उनी धरान नआइपुग्दै दुर्घटनामा परे ।

इटहरीबाट धरानतर्फ नै आइरहेको को १ च ४३१५ नम्बरको एम्बुलेन्सले उनलाई पछाडिबाट ठक्कर दियो । एम्बुलेन्स पनि धिमा गतिमा भएकोले पनि उनको ज्यान जोगियो । तथापी उनको साइकल पुर्णरुपमा क्षति पुगेको छ । एम्बुलेन्स चालक श्रीप्रसाद राईले नै उनलाई एम्बुलेन्समा हालेर उपचारको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा ल्याए । उनको त्यहाँ उपचार भइरहेको छ ।

एम्बुलेन्स चालक राईका अनुसार कोशी राजमार्ग निर्माणको क्रममा भएकोले एक साइडमा गाडी गुडिरहेको बेला अनाचक दुर्घटना भएको हो । इनरुवामा विरामी पुर्याएर उनी धरान फर्किरहेका थिए । साइक्लिष्ट लिम्बुले कालो कपडा लगाएको र साइकलको पछाडि टल्कने नदेखिएकोले पनि नजिक आइपुग्दा मात्र आफुले देखेको र ब्रेक लगाउदा लगाउदै ठोक्किएको चालक राईको भनाई छ । उनले मोवाइल सम्पर्कमा भने,‘बाटो बनाउदै गरेकोले एक साइडमा विस्तारै आइरहेको थिएँ । एम्बुलेन्सको डिम लाइट थियो, भाइको कपडा पनि कालो भएको र बत्ति बल्दा साइकलको पछाडि टल्कने चिज नहुदा नजिकै आइपुग्दा मात्र देखे । ब्रेक लगाउदा लगाउदै पनि ठोक्कियो ।’