धरान: सुनसरी जिल्लामा सडक दुर्घटना बढेपछि न्युनीकरण गर्न १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयले चार जिल्लामा टाइम कार्ड लागु गरेको छ । 

सडक दुर्घटना न्युनीकरण गर्न राजमार्गहरुमा टाइम कार्ड लागु गरिएको ट्राफिक प्रहरीले जनाएको छ । सुनसरीमा पछिल्लो समय सवारी दुर्घटनाको संख्या र ज्यान गुमाउनेको संख्या अत्यधिक भएपछि जिल्ला प्रशासन कार्यालयले बुधबार सरोकारवालाहरुबीच छलफल गरेको थियो । सोही छलफलबाट दुर्घटना न्युनीकरण गर्नको लागि एक टाइम कार्ड पुर्णरुपमा लागु गर्ने सुझावलाई बिहिबारदेखि नै लागु गरिएको प्रदेश ट्राफिक प्रहरी प्रवक्ता एवं डिएसपी सुमन तिम्सिनाले जानकारी दिए । 

प्रदेश १ मा विगत ३ बर्षअघि नै राजमार्गमा टाइम कार्ड लागु भएपनि कोरोनाको कारण पछिल्लो बर्ष कार्यान्वयनमा समस्या भएको थियो । बुधबारको सरोकारवालाहरुबीच छलफल पछि बिहिबारदेखि ४ जिल्लामा पुर्णरुपमा राजमार्गहरुमा टाइम कार्ड लागु गरिएको उनले बताए । प्रहरीका अनुसार झापा, मोरंग, सुनसरी र उदयपुर क्षेत्रको राजमार्गमा चेक पोइन्ट राखेर टाइम कार्ड लागु गरिएको छ । 

राजमार्गमा तत्काल १० ठाउमा चेक पोइन्ट राखेर टाइम कार्डलाई लागु गरिएको र जनशक्ति व्यवस्थापन हुदै गएपछि चेक पोइन्ट थपिने डिएसपी तिम्सिनाले जानकारी दिए । ट्राफिक प्रहरी कार्यालय सुनसरीका अनुसार गत साउनदेखि माघ २५ गतेसम्म ७ महिनाको अवधिमा सुनसरी जिल्लामा मात्र ७६४ वटा सवारी दुर्घटना भएको छ भने ६९ जनाले ज्यान गुमाइसकेका छन् । अंगभंग हुनेको संख्या ३ जना रहेको छ । 

accident-data

सवारी दुर्घटना अत्यधिक बढेपछि न्युनीकरणको उपाय खोज्न सरोकारवालाहरुबीचमा छलफल गरिएको सुनसरीका प्रजिअ इन्द्रदेव यादवले जानकारी दिए । उनले भने,‘धेरै बिषयमा कुरा उठेको छ, त्यसमध्ये टाइम कार्ड लागु गर्ने पनि हो । सुनसरी जिल्लाको मात्र नभएर अन्य जिल्लाको पनि टाइम कार्ड लागु गर्नेबारे समन्वय गरेका छौ ।’

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रदेश १ अध्यक्ष सरोज श्रेष्ठले टाइम कार्ड सडक दुर्घटना न्युनीकरणको एक उपाय भएको बताए । तर, अन्य थुप्रै कारणहरु पनि भएकोले ति कारणहरुलाई पनि उतिकै महत्व दिएर हल गर्नुपर्ने उनी बताउँछन् । ‘राजमार्गमा जथाभावी १० १० मिटरमा डिभाइडर खुला गरिएको छ, यसले पनि दुर्घटना बढायो,’उनी भन्छन्,‘साना सवारी संख्या अत्यधिक बढेको छ । ६ लेनको सडक त बन्यो, तर जहीत्यहीबाट क्रस गर्ने, सहीरुपमा लेनको प्रयोग नगर्ने कारणले पनि दुर्घटना बढेको भन्ने कुरा छलफलमा उठ्यो ।’

उक्त छलफलमा सडक निर्माण कार्य ढिलाई हुदा पनि दुर्घटना बढेको निष्कर्ष निस्किएको थियो भने निर्माण सम्पन्न भएको सडकमै सवारी पार्किङ हुनु, सडकमा हाटबजार लाग्नुले पनि दुर्घटना तिम्त्याएको डिएसपी तिम्सिनाको भनाई छ । दुर्घटना न्युनीकरण गर्न जनचेतना कार्यक्रम, ओभरस्पिड कन्ट्रोल, मापसे चेकिङ टाइम कार्ड र दण्ड जरिवानामा केन्द्रीत भएको पनि उनले बताए । 

time-card