स–साना कुराहरुमा

अचेल

भगवान देख्न थालेको छुँ


जस्तो कि....


हाँगाको कोमलता चिरेर 

दुनियाँ चियाइरहेको पातहरुमा


त्यही पातहरुसँग कुममा कुम मिलाउँदै 

उम्रिएका काँडाहरुमा, कोपिलाहरुमा


कोपिलाहरु फुटाएर 

मुस्कुराइरहेका फूलहरुमा


फूलहरुबाट तप्कँदै 

झरेका शीतहरुमा


शीतले नुहाएर 

आँग तापिरहेको जमीनमा 


जमीनसँग इत्रिरहेका 

किरणका बच्चाहरुमा


किरणसँग आँखा छोप्ने खेलिरहेका 

तरुण कुहिराहरुमा


कुहिरालाई 

बेतहासा दौडाइरहेका हावामा


हावामा कावा खाइरहेका 

रङ्गीबिरङ्गी चङ्गाहरुमा 


चङ्गाहरुलाई उडाइरहेछु भन्दै 

आफै तिनीहरुसँगै उडिरहेका बालापनमा


बालकभन्दा दुइकदम अगाडि दौडिरहेका 

कागजका डुङ्गाहरुमा


डुङ्गामा सवार 

बालक सपनाहरुमा


त्यही सपनाहरुमा घुड्सवारी गर्दागर्दै 

तरुण भएको युवापनमा


युवापनले लखेटिरहेका 

इन्द्रेणी भविष्यमा


त्यही भविष्य फक्रिरहेको 

तिम्रो ओँठमा....


र, ओँठले खसालिरहेका 

प्रेमका गुलाफी मौनतामा


अब कसरी नभन्नू

तिम्रो यो मौनताभन्दा ठूलो

अरु कुनै भगवान छैन भनेर....


स–साना कुराहरुमा

अचेल तिमी देख्न थालेको छुँ....।