धरान: नेपाली बब मार्ली भनेर परिचित लोकगायक गंगा बरदान मास्के ६९ बर्षमा प्रवेश गरेका छन् । 

धरानका कलाकार एवं संगीतकर्मीहरुले गायक वरदानलाई संगीत क्षेत्रमा निरन्तरता एवं सुस्वास्थ्यको कामना गर्दै मंगलबार साँझ धरानको कोरियनमान्डू रेस्टुरेन्टमा एक कार्यक्रम गयरि जन्मदिन मनाइएको छ। सिल्भर इन्टरटेनमेन्टको आयोजना भएको कार्यक्रममा धरान संगीत प्रतिष्ठानका अध्यक्ष सुवर्ण श्रेष्ठ, गीतकार मिना सिंगक सुब्बा, कोरियनमाण्डू रेस्टुरेन्टका संचालक रोशन मोक्तान, चर्चित गायक एपी शेर्पा, सिल्भर इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सौरभ श्रेष्ठ  लगायतका संगीतकर्मीहरु तथा शुभचिन्तकहरुबीच केक काटेर गायक बरदानको ६९ औं जन्मोत्सव मनाईएको थियो।  

ganga1

गायक वरदान २००९ साल फागुन २ गते शुक्रबार भोजपुरको दिङ्गलामा जन्मिएका हुन् । उनी संगीत क्षेत्रमा युवा अवस्थादेखि नै सक्रियरुपमा लागेका थिए । उनको लोकपप शैलीको छपनीले छान छान डबकीले हान..., बजारै भरौन धरानै..., कहाँमा काट्यो बेतको लौरी..., सिम सिम पानी.., अरुणै तर्यो.. लगायतका गीतहरु अहिले पनि उतिकै लोकप्रिय छन्।  

पहिलोपल्ट आफ्नो जन्मदिनलाई सम्झेर भब्यरुपमा मनाईदिएकोमा गायक वरदानले धन्यवाद दिए । साथै अझै संगीतमा लागिरहने उत्प्रेरणा जागेको पनि उनले बताए । गायक गंगा बरदानले आफना केही नयाँ र पुराना गीतहरु आफ्नै स्वरमा रेकर्ड गर्न लागेको जानकारी पनि दिए । गायक बरदानलाई सोही समारोहमा कोरियामा कार्यरत किशोर मास्के, हेम गुरुङ, कमल श्रेष्ठ, सुमन सुनुवार र राजु लिम्बुले संयुक्त रुपमा पठाएको रकम समेत हस्तान्तरण गरिएको थियो। 

 ganga2