धरानः धरान उपमहानगरपालिकाको १० औं नगरसभाले अघिल्लो नगरसभा (नवौं) ले पारित गरेको चालु आर्थिक बर्षको विनियोजन ऐनमा अनुमान गरेको आन्तरिक आयतर्फ १० प्रतिशत घटाएको छ । 

सुनसरी उद्योग वाणिज्य संघको हलमा आज भएको दशौं नगरसभाको दोस्रो बैठकले विनियोजन ऐन २०७८ संशोधन गरि आयतर्फ १० प्रतिशत घटाउन गरेको प्रस्ताव पारित गरेको हो । वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाका अनुसार आन्तरिक आयतर्फ अनुमान गरे अनुसार नहुने भएकोले अनुमानित आयतर्फ १० प्रतिशत घटाएर कायम गर्ने प्रस्ताव पारित भएको छ । 

माघ २८ गते उद्घाटन भएको नगरसभामा विनियोजन ऐन २०७८ को अनुसुची २ मा संशोधन प्रस्ताव पेश भएको थियो । नवौं नगरसभाले पािरत गरेको विनियोजन ऐनमा अनुमानित आन्तरीक आयतर्फ ७७ करोड ३८ लाख ६६ हजार २५० अनुमान गरिएको थियो । उक्त अनुमानित बजेटमा १० प्रतिशत घटि गरेर ६९ करोड ६४ लाख ७९ हजार ६२५ कायम गर्न दशौं नगरसभामा पेश भएको संशोधन प्रस्ताव पारित भएको छ ।

कार्यक्रम पनि १० प्रतिशट कटौती

नगरसभाले अनुमानित आन्तरिक आय घटाएपछि चालु आर्थिक बर्षमा विनियोजन गरिएको कार्यक्रमहरु पनि कटौती गरेको छ । नगरसभामा आन्तरिक आयतर्फबाट खर्च हुने गरि विनियोजन भएको कार्यक्रमहरु १० प्रतिशत घटाउन गरिएको प्रस्वाव पारित भएको वरिष्ठ प्रशासकीय अधिकृत खतिवडाले जानकारी दिए । उनले भने,‘वडाहरुको आन्तरिक आयबाट खर्च हुने गरि विनियोजन गरिएको कार्यक्रम र नगरस्तरीय महाशाखाहरुको पनि १० प्रतिशत कार्यक्रमहरु घटाउने प्रस्ताव पारित भएको छ ।’

घरवहाल कर चैत मसान्तसम्म बुझाउदा जरिवाना छुट

नगरसभाले आर्थिक ऐन २०७८ मा पनि संशोधन गरेको छ । ऐनको दफा ४ मा उपदफा ४ थप गर्न दशौं नगरसभामा प्रस्ताव पेश भएको थियो । उक्त उपदफामा घरवहाल करमा २०७८ चैत मसान्तसम्म बुझाउदा लाग्ने जरिवाना छुट गर्ने भन्ने उल्लेख छ । सोही प्रस्ताव पनि पारित भएको खतिवडाले बताए ।

  २ वटा ऐन पारित

नगरसभाले २ वटा महत्वपुर्ण ऐनहरु पनि पारित गरेको छ । नगरसभाले उपमहानगरपालिकाको शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७८ पारित गरेको छ भने सार्वजनिक निजी साझेदारी सम्बन्धी ऐन, २०७८ पनि पारित गरेको वरिष्ठ प्रशासकीय अधिकृत खतिवडाले जानकारी दिए । यस्तै, उपमहानगरपालिकाका पदाधिकारीहरुको आचारसंहिता, २०७८ पनि पारित भएको छ ।