धरान: हिजो बुधबार साँझ धरान ४ स्थित कोशी राजमार्गको धरान भेडेटार सडक खण्डमा पर्ने जंगल क्षेत्रमा जेब्रा झोलाभित्र टाउको र एउटा खुट्टा भेटिएको खबरले सनसनी मच्चियो । कसैले हत्या गरेर शव झोलामा राखेर फालेको प्रहरीको अनुमान थियो । 

उक्त शवको जीउ र अन्य अंगहरु भने भेटिएको थिएन । घाँटीभन्दा माथिको टाउकोको भाग र तीघ्रा मुनिको दाहिने खुट्टा भएको अनुसन्धान टोलीले पुष्टि गर्यो । बाँकी अंग खोज्न ईलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक गजेन्द्र रायको कमाण्डमा खटिएको टोलीले आज बिहान पुनः जेब्रा झोलामा प्याक गरेको अवस्थामा बाँकी शरीरको भाग पनि भेटिएको थियो । बुधबार भेटिएको शवको बाँकी अंगहरु नै भएको प्रहरीले निष्कर्ष निकालेको छ । 

दुई दिनमा दुई स्थानमा झोलाभित्र प्याक गरेर फालिएको पुरुषको शव भेटिए पनि उनी को हुन् भन्ने पहिचान खुलेको छैन । पहिचान हुन नसकेपछि प्रहरीले नै ती पुरुषको अनुहार प्रष्ट देखिने तस्बिर सार्वजनिक गर्दै सनाखतको लागि सहयोग गर्न अपिल गरेको छ । प्रहरीका अनुसार शव वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको छ । 

बुधबार धरान भेडेटार सडकको जेठामाने गोलाईबाट ४५ फिट पश्‍चिम तर्फ रहेको खर्दु सामुदायिक वन क्षेत्रमा निलो पँहेलो रंगको जेब्रा झोलामा प्याक गरेको अबस्थामा टाउको र खुट्टा भेटिएको थियो । त्यसपछि धरानका डिएसपी नरेन्द्र कुँवरको नेतृत्वमा डग स्निफिङ सहितको प्रहरी अनुसन्धान टोली र वीपी प्र्रतिष्ठानको फरेन्सिक बिशेषज्ञ चिकित्सक टोली घटनास्थलमा परिचालन भएको थियो । आज बिहिबार विहान साढे १० बजे हिजोको ठाउँभन्दा करिब डेढ किलोमिटर उत्तर धरधरे भन्ने स्थानमा जेव्रा झोलामा प्याक गरेर फालेको अवस्थामा बाँकी शरिरको भाग फेला परेको थियो । 

dead-body2