बिराटनगर: हत्या गरि उखुबारीमा शव गाडेको घटनाको सुक्ष्मरुपमा अनुसन्धान गरि हत्यामा संलग्नहरुलाई पक्राउ गर्न कारबाहीको दायरामा ल्याउन महत्वपुर्ण भुमिका खेल्ने मोरङका दुई प्रहरी माघ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । 

ईलाका प्रहरी कार्यालय रंगेलीमा कार्यरत प्रहरी निरीक्षक अनमोल खड्का र १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर, अनुसन्धान समुह(आरआइटी)मा कार्यरत सई फिरोजकुमार चौधरी प्रदेशकै सर्वोत्कृष्ट प्रहरी घोषित भएका हुन् । दुवैलाई १ नम्बर प्रदेश प्रहरी कार्यालयले सर्वोत्कृष्ट घोषणा गरेको हो ।

मोरङको धनपालथान गाउँपालिका ७ स्थित उखुबारीमा भेटिएको दुई वटा लाश र ललितपुरको गोदावरी नगरपालिका १२ स्थित गोदाम घरमा गाडेको लाश उत्खनन् गरि संलग्नहरुलाई पक्राउ गर्न दुवैले अह्म भुमिका खेलेको प्रदेश प्रहरीले जनाएको छ । दुवैको कामको उच्च मुल्यांकन गरेर माघ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । 

प्रदेश प्रहरीले मनोवल उच्च बनाउन तथा कामको उचित मूल्याङकन गर्न प्रदेश भरीका प्रहरीहरु मध्येबाट हरेक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ । सर्वोत्कृष्ट हुने प्रहरीलाई पुरस्कृत गर्ने गरेको छ भने उत्कृष्ट कार्यको बिवरण सहितको फ्लेक्स प्रिण्ट गरेर १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको स्तम्भ र प्रदेशभरिको इलाका प्रहरी कार्यालय ूकू स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिना सम्म राखिने गरिएको छ ।