धनकुटा: धनकुटाको महालक्ष्मी नगरपालिकाको शहरी पूर्वाधार विकासका लागि शहरी विकास मन्त्रालयले ५० करोड बजेट उपलब्ध गराउने भएको छ । 

महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपालको पहलमा मन्त्रालयले सघन शहरी विकास कार्यक्रम अन्तर्गत बजेट उपलब्ध गराउँने भएको हो । लामो समयको पहलपछि महालक्ष्मीको शहरी पूर्वाधार विकासका लागि शहरी विकास मन्त्रालयबाट ५० करोड बजेट प्राप्त भएको मेयर नेपालले बताए । ‘हामीले नगर सभाबाट पारित गरेर बजेट माग गरेका थियौं, बजेट माग्न म पटक–पटक मन्त्रालय धाएको थिए । अन्ततः ठूलो बजेट प्राप्त हुँने भएको छ,’ खुशी हुँदै मेयर नेपालले भने, ‘यसले महालक्ष्मीको शहरी पूर्वाधार विकासमा निकै ठूलो काम हुन्छ ।’

शहरी विकास मन्त्रालयले बजेट उपलब्ध गराउँने पत्र पठाएपछि धनकुटास्थित सघन शहरी तथा भवन निर्माण आयोजनाले बजेट खर्चका लागि प्रारम्भिक चरणको तयारी थालेको छ । महालक्ष्मी नगरपालिकाका मेयरसहित प्रतिनिधिहरुसँग केही दिनभित्रै छलफल कार्यक्रम राखेर योजना निर्माण गरिने आयोजना प्रमुख रञ्जनकुमार दासले बताए । ‘माथिबाट हामीलाई एक हप्ता अघि नै पत्र आएको छ, अब महालक्ष्मी नगरपालिकासँग छलफल गरेर प्रारम्भिक चरणको काम थाल्छौ,’ आयोजना प्रमुख दासले भने ।

यो बजेट मुख्यगरी सडक निर्माण तथा स्तरोन्नती, भवन निर्माण, हाट बजारको संरचना निर्माण जस्ता काममा खर्च गरिने बताइएको छ । तर, कुन–कुन क्षेत्रमा के–कति खर्च गर्ने, के–कस्तो योजना निर्माण गर्ने भन्ने बिषय छलफलबाट टुंगो लगाइने छ । पहिलो चरणमा नगरपालिका र स्थानीयबासीसँग योजनाका बारेमा जानकारी लिएपछि त्यसको सर्भे गरेर रिपोर्ट पठाइने आयोजना प्रमुख दासले जानकारी दिए ।