उदयपुर: उदयपुरको कटारी नगरपालिका ८ स्थित श्रृष्टीको जंगलमा मृत फेला परेका व्यक्तिको हत्या भएको पुष्टि भएको छ । 

फागुन ७ गते मृत फेला परेका भारतको राजस्थानका ५० बर्षीय रामकिसन मिणाको हत्या भएको खुलेको थियो । उनको हत्यामा संलग्न उदयपुर बेलश्रोतका २८ बर्षीय कमल थापा भनिने कमल बिक पक्राउ परेका छन् । बिकले मिणालाई माघ २५ गते घाँटीमा डोरीले कसेर हत्या गरेको खुलेको प्रहरीले जनाएको छ । मृतक मिणा मोरङको कानेपोखरी गाउँपालिका र पथरी शनिश्चरे नगरपालिका बिचको डास खोलामा निर्माणाधिन रहेको पुलमा पायलिङ मेशिनको काम गर्दै आएका थिए । उनी माघ २६ गते देखी सम्पर्कविहिन भएपछि परिवारले ईलाका प्रहरी कार्यालय पथरीमा हुलिया निवेदन दिएका थिए ।

निवेदन आएपछि खोजीमा जुटेको प्रहरीले फागुन ९ गते पथरी ८ बाट बिकलाई पक्राउ गरेको जनाएको छ । पक्राउ परेका विकलाई सोधपुछ गर्ने क्रममा लेनदेनको बिषयमा वादविवाद हुँदा मिणाको हत्या गरी जंगलमा फालेको स्वीकार गरेको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ । पुलको ठेक्का पट्टा गर्ने बिक र मृतक मिणा बिच पुलको पिलरको जग खन्ने मेसिन ल्याई काम गर्ने सम्झौता भएको थियो । सोही सम्झौता अनुसार बिगत डेढ महिना देखी मिणा डास खोलामा काम गर्दै आईरहेका थिए ।

काम गर्ने क्रममा माघ २३ गते कमल बिकको बिरगंजमा रहेको अर्को साईड हेर्न भनी मृतकले प्रयोग गर्दै आईरहेको बिआर ०१ बिसि ५६९७ नम्बरको गाडीमा दुवै जना बिरगंजतर्फ हिडेका थिए । विरगञ्जबाट फर्कने क्रममा माघ २५ गते विकको घर कटारी जादै गर्दा बाटोमा लेनदेन सम्बन्धी विवाद भएको थियो । वादविवादकै क्रममा मादक पदार्थ समेत सेवन गरेका बिकले रिसको आवेगमा मिणाको घाँटीमा केवल तारको डोरीले कसेर हत्या गरेको खुलेको छ । साथै, हत्या पश्चात शवलाई सोही गाडीको डिकीमा ओढ्नेले छोपेर कटारी भन्दा ३० किलोमिटर माथी जंगलमा लगी फालिदिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । शवलाई जंगलमा फालेर फर्किएका बिकले मृतकले प्रयोग गर्ने मोवाइल फोन कोशी नदीमा फालिदिएका थिए भने गाडी भारतीय बजार भिमनगर लगेर बेवारिसे अवस्थामा छोडेर फर्किएको खुलेको प्रहरीले जनाएको छ । 

विरगञ्ज दुबैजना संगै गएको र फर्कदा १ जना मात्र फर्किएको देखिए पछि अन्यले सोधपुछ गरेका थिए । त्यसबेला बिकले मिणा भारत तर्फ गएको भन्ने जवाफ दिदै आएका थिए । लामो समयसम्म पनि मिणा सम्पर्कमा नआएपछी मृतकका परिवार खोजतलास गर्दै ईलाका प्रहरी कार्यालय पथरीसम्म आएर निवेदन दिएपछि मात्र हत्या घटनाको रहस्य खुलेको हो । फागुन ७ गते शव फेला परे पछि विकले प्रहरी समक्ष हत्या गरेको स्विकारेका थिए । मृतकका आफन्तलाई सनाखत गराउदा पनि आफ्नै मान्छेको हो भनेर सनाखत गरिदिएका थिए । हत्यामा संलग्न बिकलाई थप अनुसन्धान तथा कानुनी कार्बाहीको लागी ईलाका प्रहरी कार्यालय कटारी तर्फ पठाईएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ।