धरान: सत्ता गठबन्धनले अमेरिकी सहयोग परियोजना एमसीसीलाई संसदबाट पारित गर्ने सहमति गरेको छ । 

शीर्ष नेताहरुले व्याख्यात्मक टिप्पणीसहित आजै संसदबाट एमसीसी पािरत गर्ने सहमति गरेका हुन् । बाटलुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका शीर्ष नेताहरुको बैठकले गठबन्धन जोगाउन व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने सहमति गरेका हुन् । त्यसअघि माओवादी केन्द्रले एमसीसी परित गर्ने निर्णय गरेको थियो । 

बैठकमा प्रधानमन्त्री देउवा, मा‌ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल,नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल‚ कृष्णप्रसाद सिटौला‚ महामन्त्री गगनकुमार थापा‚ उपसभापति पूर्णबहादुर खड्का, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत सहभागी थिए ।

एमसीसीकै कारण सत्ता गठबन्धन धरापमा परेपछि माओवादी केन्द्र र एकीकृत समाजवादी पनि पारित गर्नुपर्ने निर्णयमा पुगेको हो । प्रधानमन्त्री देउवासहित कांग्रेस नेताहरुले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग वार्ता अघि बढाएपछि दुवै दलमा निर्णय परिवर्तन गर्न तीब्र दबाब परेको थियो । यसअघि माओवादी केन्द्र र एकीकृत समाजवादीले संशोधन विना यथास्थितिमा एमसीसी पारित नगर्ने निर्णय गरेको थियो । ती दलका भातृ संगठनहरुले सडक आन्दोलन पनि गर्दै आएका थिए ।