धरान: धरान १८ स्थित न्यू कान्तिपुर होटल एण्ड गेष्ट हाउसमा मृत भेटिएकी महिलाको शरीरमा चोटपटक भेटिएको छ । 

आफन्तजन आएर सनाखत गरेपछि मुचुल्का उठाउने क्रममा मृतकको शरीरमा चोटपटक देखिएको प्रहरीको भनाई छ । महिलाको शरीर अनुहार मात्र देखिने गरि सिरक ओढाएको अवस्थामा भेटिएको थियो । मुचुल्काको क्रममा भने मृतकको अनुहार र जीउमा पनि चोटपटक देखिएको एक प्रहरीले बताए । ‘आफन्त सम्पर्कमा आएर रोहबरमा मुचुल्काको काम पनि सकियो, शव पोष्टमार्टमको लागि वीपी प्रतिष्ठान लगिएको छ,’ती प्रहरीले भने,‘अनुहार र जिउमा पनि चोटपटक लागेको देखिन्छ । घटना शंकास्पद छ ।’

प्रहरीले मृतकसँगै होटलमा बस्न आएका युवाको खोजी तीब्र पारेको छ । फरार रहेका युवाले नाम जीवन मगर र ठेगाना धनकुटा लेखाएका छन् । तर, उनको नाम र ठेगाना गलत लेखाएको हुनसक्ने प्रहरीको अनुमान छ । मृतक महिलाको भने छोरा र छोरी आएर सनाखत गरेका थिए । मृतक इटहरी ५ मा डेरा गरी बस्ने ३९ बर्षीया सुमित्रा तामाङ हुन् । उनको श्रीमान् ब्रुनाईमा छन् । भारतीय सेनाबाट अवकाश पाएपछि उनी ब्रुनाईमा गएका हुन् । मृतकको झोलामा भएको कागजपत्रको आधारमा उनको परिचय र ठेगाना खुलेको थियो । झोलामा पाँचथरको मिक्लाजुङ गाउँपालिका १ ठेगाना रहेको मतदाता परिचयपत्रबाट खुलेको थियो ।