विराटनगर: प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ३५ जना कोरोना संक्रमित थपिएका छन् । 

सामाजिक विकास मन्त्रालयका अनुसार ३३४ जनाको पीसीआर परीक्षण गर्दा ३३ र २३७ जनाको एन्टिजेन परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको हो । पीसीआर परीक्षणका आधारमा मोरङमा १२, सुनसरीमा ७, झापामा ४, पाँचथरमा ३, धनकुटामा २, उदयपुरमा १ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो । 

मोरङको उर्लाबारीमा ३, विराटनगर, बेलबारी, कानेपोखरी र सुन्दरहरैचामा २–२, सुनबर्षीमा १, सुनसरीको इटहरीमा ३, बराहक्षेत्रमा २, बर्जु र देवानगञ्जमा १–१, झापाको गौरीगञ्ज, भद्रपुर, मेचीनगर र कनकाईमा १–१, पाँचथरको फाल्गुनन्दमा ३, धनकुटाको धनकुटा नगरपालिका र महालक्ष्मीमा १–१, उदयपुरको त्रियुगामा १ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । 

प्रदेश १ मा थप ८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ६ महिला र २ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या ८७४ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।