धरान: नेपालकै सर्वाधिक संख्यामा सहभागी हुने दौड प्रतियोगिता १० औं धरान रन नेवा च्यारिटी १० किमी २०७८ को तयारी पुरा भएको छ । 

प्रतियोगिताबारे जानकारी दिन बिहिबार कफी पब एण्ड रेष्टोमा आयोजित अन्तिम पत्रकार सम्मेलनमा आयोजकले सम्पुर्ण तयारी पुरा भएको बताएको हो । धरान रनका अध्यक्ष रमु राईले भने,‘९९ सय प्रतिशत तयारी पुरा भइसकेको छ, खेलाडीहरु पनि आउन थालिकसको छन् ।’

प्रतियोगिता फागुन २१ गते शनिबार आयोजना हुदैछ । यो १० औं सँस्करण भएकोले विगतको भन्दा फरक र भव्य तरिकाले आयोजना हुने आयोजक संस्थाको भनाई छ । यसपाली प्रतियोगितामा देश विदेशका गरि ४ हजारको संख्यामा धावकधाविकाहरु सहभागी हुने अध्यक्ष राईले बताए । उनले भने,‘भारत, बेलायत, हङकङलगायत देशहरुबाट खेलाडीहरु आइसकेका छन् । नेपालकै पनि चर्चित धावकहरु बैकुण्ठ मानन्धर, मिरा राई पनि सहभागी हुन्छन् ।’

यसपटक जनचेतनामुलक कार्यक्रमसहित पहिलो पटक ह्विल चेयर रेस पनि आयोजना हुनेछ । ह्विल चेयर रेस पौने ७ बजे शुरु हुनेछ भने धरान रन १० किमी नेवा च्यारिटी ठिक साढे ७ बजे शुरु हुनेछ । यसपाली बिशेष आकर्षणमा नेपालको राष्ट्रिय झण्डा बोकेर विश्वरभर नेपालाई चिनाउने झण्डा अभियानकर्ता लक्ष्मीनारायण शिल्पकारको कार्यक्रममा उपस्थिति रहने पनि अध्यक्ष राईले जानकारी दिए । यस्तै, खाली खुट्टा दौडने भारत, जलपाईगुडीका सुन्दर जयसवाल पनि भारतीय झण्डा बोकेर दौडने उनले बताए । कार्यक्रममा खेलकुदमा योगदान पुर्याएका व्यक्तित्वहरुलाई सम्मान पनि गरिने आयोजकले जनाएको छ । 

खुल्ला समुहमा महिला र पुरुषतर्फ प्रथम, दोस्रो, तेस्रो हुनेले क्रमशः नगद ६० हजार, ५० हजार र ३० हजार पाउनेछन् । १२ बर्ष मुनिका प्रथम, दोस्रो, तेस्रो हुनेले क्रमशः नगद ७ हजार, ५ हजार, ३ हजार पाउनेछन् । यस्तै, १२ देखि १६ बर्षभित्रका प्रथम, दोस्रो, तेस्रो हुने र ४० बर्ष माथि भेट्रायन दौडका प्रथम, दोस्रो, तेस्रो हुनेले पनि ७ हजार, ५ हजार र ३ हजार पुरस्कार पाउनेछन् ।