धरान: नेपालकै धेरै धावकधाविकाहरु सहभागी हुने मध्येको एक नेवा च्यारेटी धरान १० के रनको दशौं सँस्करण अब फागुन २१ मा मात्र हुने भएको छ । 

कोरोना संक्रमणको कारण यसअघि घोषणा गरिएको मितिमा धरान १० के रन आयोजना नहुने भएको हो । आयोजक धरान रनले सोमबार पत्रकार सम्मेलन गर्दै फागुन २१ गते हुने जानकारी दिएको हो । यसअघि दौड प्रतियोगिता फागुन ७ गते हुने भनिएको थियो । 'समय अनुकुल भएन, प्रशासनले पनि ठुलो भिडभाड हुने कार्यक्रम गर्न नदिने भएकोले ७ गते हुने भनिएको नेवा च्यारिटी धरान १० के रन फागुन २१ गते गर्ने भएका छौ,' अध्यक्ष रमु राईले भने । यसपाली १० औं सँस्करणलाई भव्यरुपमा आयोजना गर्न लागेको पनि अध्यक्ष राईले जानकारी दिए । उनले यो कार्यक्रमबाट धरानलाई र नेपाललाई नै अन्र्तराष्ट्रियरुपमा चिनाउने माध्यम धरान रन स्थापित गर्ने बताए ।

बेलायतबाट गृह नगर आइपुगेका धरान रनका संस्थापक अध्यक्ष सन्तोष राईले यसपाली बिशेष बनाउन स्पाइनल कर्ड इन्जुरी भएकाहरुलाई प्रोत्साहन गर्न ह्विल चियर रेस आयोजना गर्ने बताए । साथै, कोही न कोही चर्चित व्यक्तित्वलाई निमन्त्रणा गर्ने पनि उनले बताए । उनले देश विदेशमा भएका सहयोगीहरुको कारण नै १० औं सँस्करणसम्म आइपुगेको भन्दै सबैलाई धन्यवाद पनि दिए । 

d-run

यसपाली नेपालबाहेक भारतको दार्जिलिंग, सिक्किम, कलकताबाट सहभागी हुनेछन् भने बेलायतबाट पनि सहभागी हुने आयोजकले जनाएको छ । यसपाली ३ हजार हाराहारीमा सहभागी हुने आयोजकले अनुमान गरेको छ । 'अधिकांशले कोभिडविरुद्ध खोप लगाइसकेको कारण पनि सहजता भएको छ, बालबालिकाहरुलाई अलग्गै दौडाउने भएकोले समस्या हुदैन,' धरान रनका लोकबहादुर लिम्बुले भने । 

खेलाडीहरुलाई ४ सय दर्ता शुल्क लाग्ने भएपनि विद्यार्थीहरुलाई ३ सय मात्र तोकिएको छ । यसपाली मुख्य स्पर्धातर्फ महिला र पुरुषमा पुरस्कार राशी वृद्धि गरिएको पनि अध्यक्ष राईले जानकारी दिए । खुलातर्फ महिला र पुरुष स्पर्धामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमशः ६० हजार, ४० हजार र ३० हजार दिइने उनले बताए । यसैगरि, १२ बर्ष मुनि, १६ बर्ष मुनि र भेट्रानमा पनि महिला र पुरुषतर्फ प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः ७ हजार, ५ हजार र ३ हजार पुरस्कार दिइनेछ भने सुपर भेट्रान र ह्विलचियर रेसका विजेतालाई पनि पुरस्कार दिइने धरान रनले जनाएको छ ।

खेलकुद क्षेत्रलाई योगदान दिने व्यक्तिहरुलाई पनि सम्मान गर्ने योजना रहेको अध्यक्ष राईले जानकारी दिए । 'धरान उत्सव जस्तो भएको हुनाले दौडने मात्र नभएर आफ्नो आमा बुबा, बालबच्चाहरुसहित भानुचोकमा आएर हेर्दिनु होला, धरानेहरुको एकता, शक्ति कस्तो छ दौडबाट सामाजिक कार्य कसरी गछौ भनेर देखाउने अवसर पनि हो, त्यो हेर्दिनु होला,'वर्तमान अध्यक्ष राईले भने । 

भिडियो: