धरानः धरान १८ बुद्धचोकस्थित न्यू कान्तिपुर होटल एण्ड गेष्ट हाउसमा २ दिन सँगै बसेकी महिलाको हत्या गरि फरार युवालाई पक्राउ गरि प्रहरीले सार्वजनिक गरेको छ । 

ईलाका प्रहरी कार्यालय धरानमा पत्रकार सम्मेलन गर्दै पक्राउ परेका धनकुटाको पाख्रिबास ६ फलाटेका २४ बर्षीय जीवन भनिने विनेश राना मगरलाई सार्वजनिक गरेको हो । मगरले नै २ दिन होटलमा सँगै बसेकी इटहरी ५ डेरा गरि बस्ने ३८ बर्षीया सुमित्रा तामाङको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख एवं एसपी सञ्जयसिंह थापाले जानकारी दिए । 

थापाका अनुसार मगरलाई उनकै ससुराली घर पाख्रिबास ११ बाट हिजो (शनिबार) साँझ पत्राउ गरिएको हो । उनलाई ज्यान कसुरमा ७ दिनको म्याद थप गरिएको पनि एसपी थापाले जानकारी दिए । प्रारम्भिक अनुसन्धानमा मगरले नै सुमित्राको हत्या गरेको देखिएको पनि उनले बताए । 

किन गरे हत्या ?

hotel2

एसपी थापाका अनुसार हत्या आरोपी मगर इटहरीमा सिटी सफारी चलाउने गर्थे । सोही क्रममा सुमित्रासँग चिनजान भएको र उनीहरु करिब एक बर्षअघि नजिकिएका थिए । विनेशको परिवारमा खटपट भएको र श्रीमति माइतीमा बस्दै आएकी थिइन् । उनको भने यता सुमित्रासंग प्रेम झ्यागिएको थियो । 

पछिल्लो समय विनेश कामको सिलसिलामा भोजपुर गएका थिए । तीन महिनाअघि स्काभेटर सहायक अपरेटरमा भोजपुर गएका विनेश र सुमित्रा फागुन १५ गते धरानमा भेट भएका थिए । लामो समयपछि भेट भएका दुवै होटलमा १०९ नम्बरको कोठामा २ दिन सँगै बसेका थिए । 

एसपी थापाका अनुसार फोनमा अर्कै पुरुषसंग बोलेको बिषयमा दुवैबीच १६ गते राती झगडा भएको र कुटपिट गरि घाँटी चिथेर विनेशले सुमित्राको हत्या गरेको स्वीकारेका छन् । दुवैले मदिरा पिएको अवस्थामा राती आवेशमा आएर आफुले हत्या गरेका प्रारम्भिक अनुसन्धानको क्रममा स्वीकारेको एसपी थापाले बताए । अनुहार र जिउमा पनि निलडाम, चोटपटक देखिएको प्रहरीको भनाई छ ।