धरान: धरानको होटलमा आफुसँगै २ दिन बसेकी महिलालाई हत्या गरेर फरार रहेका युवालाई धनकुटामा पक्राउ गरि प्रहरीले धरान ल्याएको छ । 

धनकुटाको पाख्रिबास नगरपालिका घर भएका २४ बर्षीय युवा विनेश मगरलाई ससुरालीमा लुकेर बसिरहेको बेला शनिबार प्रहरीले पक्राउ गरेको हो । धनकुटा प्रहरीको समेत सहयोगमा पक्राउ परेका मगरलाई प्रहरीले गए राती नै धरान ल्याएको छ । ईलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवरले भने, 'धनकुटाबाट पक्राउ गरेर हामीले राती नै ल्याइसकेका छौ । ससुरालीबाट पक्राउ गरेको हो ।' 

डिएसपी कुँवरका अनुसार मगरलाई जाज दिउँसो आवश्यक प्रक्रिया पुरा गरेर पत्रकार सम्मेलन गरि सार्वजनिक गरिनेछ । पत्रकार सम्मेलनमा नै घटनाको विस्तृत जानकारी दिइने पनि डिएसपी कुँवरले बताए । उनले भने, 'अदालती प्रक्रिया सकेपछि हामी दिउँसो पत्रकार सम्मेलन गरेर सार्वजनिक गछौ ।' गएको मंगलबार धरान १८ स्थित न्यू कान्तिपुर होटल एण्ड गेष्ट हाउसको १०९ नम्बरको कोठामा इटहरी ५ मा डेरा गरी बस्ने ३८ बर्षीया सुमित्रा तामाङ मृत फेला परेकी थिइन् । उनी २ दिनदेखि विनेशसँग उक्त कोठामा बसेकी थिइन् ।

सुमित्राको शव भेटिए पछि उनलाई विनेशले कोठामा हत्या गरेर फरार भएको आशंका गरिएको थियो । सुमित्राको शव उनको छोराछोरी, आफन्त र छिमेकी आएर सनाखत गरेका थिए भने फरार रहेका मगरको खोजी प्रहरीले गरिरहेको थियो । इटहरीमा सिटी सफारी चलाउने मगरसँग सुमित्राको प्रेम सम्बन्ध भएको र पछिल्लो समय सम्बन्ध बिग्रिएको बताइएको छ । दुवै जना विवाहित हुन् । सुमित्राको श्रीमान् भारतीय सेनाबाट अवकाश पाएपछि ब्रुनई गएका थिए ।