धरान: धरानको होटलमा २ दिन सँगै बसेर एक महिलाको हत्या गरि फरार रहेका युवा पक्राउ परेका छन् । 

धरान १८ बुद्धचोकस्थित न्यू कान्तिपुर होटल एण्ड गेष्ट हाउसमा पाँच दिनअघि मंगलबार इटहरी ५ डेरा गरि बस्ने ३८ बर्षीया सुमित्रा तामाङ मृत फेला परेकी थिइन् । उनीसँगै आएका युवा भने फरार भएका थिए ।

घटना पछि फरार रहेका ती युवा धनकुटाको पाख्रिबास नगरपालिका घर भएका २४ बर्षीय विनेश राना मगर भएको प्रहरीले जनाएको छ । उनलाई प्रहरीले धनकुटामा पक्राउ गरेर धरान ल्याएका छ । पक्राउ परेका मगरलाई आइतबार आवश्यक कानुनी प्रक्रिया पुरा गरेर सार्वजनिक गर्ने धरान प्रहरीले जनाएको छ। 

मृतक तामाङ पनि विवाहित हुन् भने पक्राउ परेका मगर पनि विवाहित भएको प्रहरीले जनाएको छ । मृतकको श्रीमान् भारतीय सेनाबाट अवकाश पश्चात ब्रनाईमा कार्यरत थिए । मंगलबार छोराछोरी, आफन्त र छरछिमेक धरान आएर उनको सनाखत गरेका थिए ।

मृतक तामाङ र मगरबीच प्रेम सम्बन्ध भएको र पछिल्लो समय भने उनीहरुबीचमा फाटो भएको थियो । सम्बन्धमा बिग्रिए पछि मगरले तामाङको हत्या गरेको बताइए पनि विस्तृत विवरण पत्रकार सम्मेलनमार्फत गर्ने जनाएको छ । मृतकको स्थायी ठेगाना भने पाँचथरको मिक्लाजुङ १ हो ।