धरान: स्वर्गीय बास्केटवल खेलाडी रेवाहाङ राईको स्मृतिमा चैत दोस्रो साता अन्तर विद्यालय धरान मेघा रेवाहाङ मेमोरियल बास्केटवल प्रतियोगिता हुने भएको छ । 

धरान १२ स्थित धरान मेघा हिमालयन कलेजको आयोजनामा चैत्र १५ गतेदेखि १९ गतेसम्म प्रतियोगिता आयोजना हुने भएको हो । आइतबार धरान १० पुतली लाइनस्थित कफि पव एण्ड रेष्टोमा पत्रकार सम्मेलन गरि आयोजकले प्रतियोगिताबारे जानकारी दिएको हो । अध्ययनसंगै विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा समेतसंगै अगाडि बढाउन खेल र खेलाडीको सम्मान गर्दै बास्केटवल प्रतियोगिता आयोजना गर्न लागिएको धरान मेघा हिमालयन कलेजका अध्यक्ष केलाश लिम्वुले बताए । 

       प्रतियोगिताका विजेताले नगद १५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद ७ हजार ५ सय, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको व्यक्तिगत विद्या तर्फ उत्कृष्ट खेलाडिलाई नगद एक हजार ५ सय, उत्कृष्ट स्कोररलाई नगद १ हजार, कफि पव एण्ड रेष्टोको फुड भौचर, ट्रफि र प्रमाण पत्र प्रदान गरिने आयोजकको भनाई छ। उत्कृष्ट स्कोरर र उदयीमान खेलाडीले ट्रफ्रि, कफि पव फुड भौचर र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

 प्रतियोगिता धरान बास्केटवल संघको संयोजन, सुनसरी बास्केटवल संघ र धरान १२ नम्बर वडाको सहयोगमा धरान मेघा हिमालयन कलेजको बास्केटवल कोर्टमा हुनेछ । प्रतियोगितामा धरान र धरान आसपासका क्षेत्र तथा जिल्लाका करिव १२ टिमले सहभागिता जनाउने आयोजक कलेजका अध्यक्ष लिम्वुले जानकारी दिए । प्रतियोगितामा १९ वर्ष मुुनिका ११ र १२ कक्षाका ६ जना र १० कक्षा सम्मका ६ जना खेलाडी हुनपर्नेछ ।  १० कक्षा सम्मको हकमा भने १२ जना खेलाडी नै सहभागिता जनाउन सक्नेछन् । 

 बास्केटवल खेलमा सम्भावना वोकेका उदयमान खेलाडी रेवाहाङ राईको १६ वर्षको उमेरमा २०७७ माघ २० गते निधन भएको थियो । दश कक्षामा अध्ययन गरिरहेको रेवाहाङको असामहिक निधन पछि उनको सम्मानमा अभिभावक, धरान मेघा हिमालयन र धरान बास्केटवल संघको सहकार्यमा प्रतियोगिता आयोजना गर्न लागिएको सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदीले बताए ।

प्रतियोगिता आयोजनाका लागि रेवाहाङका अभिभावकले दुई लाख रुपैयाको अक्षयकोष समेत स्थापना गरेका छन् । यसबाट आएको व्याज रकम, आयोजक धरान मेघा कलेज र धरान वास्केटवल संघको व्यवस्थापनबाट प्रतियोगिता आयोजना हुनेछ ।

फाइन खेल अघि थ्री पोइन्ट कम्पिटिसन हुने

प्रतियोगिताको फाइनल खेल अघि थ्री पोइन्ट कम्पिटिसन समेत हुनेछ । पहिलो चरणमा थ्री पोइन्टमा सहभागिले १ मिनट थ्री पोइन्ट सट गर्नेछन्। त्यस मध्येबाट उत्कृष्ट ३ खेलाडी छनौट हुनेछ । फाइनल चरणमा छनौट भएका मध्येबाट एक मिनेटमा जसले बढी थ्री पोइन्ट बास्केट गर्नेछ उही थ्री पोइन्ट च्याम्पियन घोषित हुनेछ । थ्री पोइन्ट च्याम्पियनले नगद २ हजार, कफि पव फुड भौचर, ट्रफि र मेडल प्राप्त गर्नेछ ।

पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई, रेवाहाङको वुवा रेवतीरमन राई, धरान मेघा हिमालयनका प्राचार्य भाष्कर पौडेल, प्रदेश १ बास्केटवल टिम कप्तान नविन राई, बास्केटवल खेलाडी हेमन्त राईको उपस्थिति रहेको थियो ।