धरान: मदिरा व्यवसायीहरुले राज्यको नीति नियम मानेर कर तिरेर व्यवसाय गरे पनि राज्य आफुहरुप्रति नकरात्मक भएको गुनासो गरेका छन् । 

धरान मदिरा व्यवसायी संघको शनिबार आयोजित ८ औं साधारणसभाको उद्घाटन समारोहका अतिथि वक्ताहरुले यस्तो गुनासो गरेका हुन् । राज्यको नीति नियम भित्र रहेर करसमेत तिरेका व्यवसायीहरुलाई राज्यले अपराधी झै गर्ने व्यवहारमा पनि परिवर्तन आउनुपर्ने बताएका छन् । 

सुनसरी उद्योग वाणिज्य संघको हलमा आयोजित कार्यक्रममा नेपाल मदिरा व्यवसायी संघका केन्द्रीय अध्यक्ष सोनाम शेर्पाले मदिरा व्यवसायीलाई राज्यका निकायहरुले हेर्ने दृष्टिकोण नै गलत रहेको बताए । उनले व्यवसायीहरुलाई दुःख दिइरहेको कारण संघले नै कानुनी उपचारको लागि २ जना वकिल राखेको पनि जानकारी दिए । ‘मदिरा व्यवसायीलाई पनि अन्य व्यवसायीलाई जस्तै सम्मान होस् भन्ने हामी चाहन्छौ,’अध्यक्ष शेर्पाले भने,‘मदिरा व्यवसायीलाई हेर्ने दृष्टिकोण नै गलत छ, त्यो परिवर्तन हुनुपर्छ ।’

madira1

अध्यक्ष शेर्पाले मदिरा व्यवसाय शुरु गर्दा बुझेर मात्र गर्न पनि सबैलाई आग्रह गरेका छन् । कसैको उक्साहटमा व्यवसायमा हात नहाल्न पनि उनले सुझाव दिए । संघका केन्द्रीय उपाध्यक्ष विष्णुकुमार श्रेष्ठले मदिरा व्यवसायीहरुको समस्या हल गर्न महासंघको प्रतिनिधि, उत्पादकको प्रतिनिनिध, जिल्लाको प्रतिनिधि समेटर अनुगमन तथा समस्या निराकरण समिति बनाएको जानकारी दिए । उनले सबै पक्षको लगानीको जोखिम न्युनीकरण गर्न लागि पर्ने पनि बताए । 

संघका प्रदेश १ अध्यक्ष सुरेशमान श्रेष्ठले अन्य व्यवसायीलाई भन्दा मदिरा र सुर्तिजन्य व्यवसायीलाई राज्यले अलगरुपमा हेर्ने र व्यवसायीहरुले दुःख पाइरहेको बताए । ‘मदिरा र सुर्तिजन्य कुरा आवश्यक छैन भने राज्यले उत्पादन बन्द गरोस्, हामी अर्को व्यवसाय गर्न तयार छौ । तर, निती नियम अनुसार चलेको, कर तिरेको छ भने किन दुःख दिइरहने ?’उनले भने । उनले कम्पनीले डिष्ट्रीब्युटरलाई भन्दा ठुला डिपार्टमेन्ट स्टोर, सुपरमार्टहरुलाई धेरै प्रतिशत छुट दिने, ६ महिनासम्म बाँकी दिने गरेकोले मदिरा व्यवसायीहरु समस्यामा परेको बताए । 

मितेरी डेभलपमेन्ट बैंकका सिईओ तुलसीप्रसाद वस्तीले व्यवसाय शुरु गरेपछि लेखाप्रणालीबारे पुर्णरुपमा सचेत हुनुपर्ने बताए । उनले व्यवसाय शुरु गरेपछि खरिद बिक्रीमा मात्र सिमित रहन नहुने भन्दै सिईओ वस्तीले संघले आफ्ना सदस्यहरुलाई लेखा प्रणालीबारे सुसुचित गराउन आग्रह पनि गरे । कार्यक्रममा सुनसरी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष शिवराज श्रेष्ठ, मदिरा व्यवसायी संघका सल्लाहकार मनोज श्रेष्ठले पनि मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा संघका सचिव प्रदिप श्रेष्ठले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष जिना राईले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

तीन जनालाई सम्मान

madira3

संघले एक पत्रकारसहित ३ जनालाई सम्मान गरेको छ । साधारणसभाको अवसरमा क्लिकधरानका प्रधानसम्पादक आर.के.राईलाई नगद १० हजारसहित सम्मान गरेको हो । ु

यसैगरि, अग्रज व्यवसायी सुनिल श्रेष्ठलाई पनि संघले सम्मान गरेको छ भने गोर्खा ब्रुअरीका कम्पनीका प्रतिनिधि कृष्ण अधिकारीलाई पनि सम्मान गरेको छ । 

सोही कार्यक्रममा उत्कृष्ट कम्पनीकोरुपमा गोर्खा ब्रुअरी प्रालि (प्रथम), सि.जि.ब्रुअरी प्रालि (दोस्रो) र टाइगर ब्रुअरी प्रालि (तेस्रो) घोषित गरिएको थियो । धरान मदिरा संघका अध्यक्ष नविन लामा, प्रमुख अतिथि एवं केन्द्रीय अध्यक्ष सोनाम शेर्पाले सम्मान तथा पुरस्कार प्रदान गरेका थिए ।

 madira4

madira2