धरान: सुनसरी प्रहरीले सप्तकोशी नदीबाट बगाएर ल्याउदै गरेको ठुलो परिमाणको गाँजा वरामद गरेको छ । 

प्रहरीका अनुसार शनिबार बिहान २ बजे कोशी नदीमा गाडीको टायरको ट्युबमा बाँसको चाङ्ग बनाएर गाँजा ल्याइरहेको अवस्थामा वरामद गरेको हो । ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी निरीक्षक पाण्डब कुमार राजबंशीको कमाण्डमा ९ जना र ईलाका प्रहरी कार्यालय चतराबाट समेत ५ जना गरी कुल १४ जना प्रहरी टोली परिचालन भएका थिए । उनीहरुले गाँजा ल्याएको स्थानमा घेरा हालेर डुङ्गा (बोट) समेतको प्रयोग गरेपछि उक्त गाँजा प्रहरी टोलीको घेरा कटाएर अन्यन्त्र लैजान सकेको थिएन । 

प्रहरीले निरन्तर खोजतलासको क्रममा करिब साढे ७ बजे बराहक्षेत्र १ स्थित सप्तकोशीको नदीको दुबै तर्फ पानी बगेको बीचको भाग (टापु)मा रहेको जंगलको काँडा घारीमा लुकाई राखेको ७ वटा बोरा वरामद गरिएको थियो । प्लाष्टिकको बोरामा प्याक गरेर लुकाएर राखेको २२१ किलोग्राम गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । उक्त गाँजा कसले ल्याएको हो भन्ने खुलेको छैन । ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले गाँजाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।