धरान: शिक्षकले एक छात्रालाई यौन दुव्र्यवहार गरेको घटना चर्कदौ गएर स्थानीयको आक्रमणमा एक महिला प्रहरीको ज्यान गएपछि मोरङ प्रशासनले लेटाङ नगरपालिकामा लगाएको कर्फ्यु खुकुलो बनाउने भएको छ । 

मंगलबार जिल्ला प्रशासन कार्यालय मोरङले एक सुचना जारी गर्दै बुधबारदेखि कफ्र्यु खुकुलो बनाउने जानकारी दिएको हो । प्रशासनका अनुसार बुधबारदेखि बिहान १० बजेदेखि ४ बजेसम्म र बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म मात्र कर्फ्यु आदेश जारी गरिएको छ । महिला प्रहरी उर्मिला श्रेष्ठको ज्यान गएपछि प्रशासनले सोही प्रकृतिको घटना दोहोरिन नदिन चैत ६ गते कफ्र्यु आदेश जारी गरेको थियो । कफ्र्युले जनजीवन असहज भएको भन्दै मंगलबार लेटाङमा बसेको सर्वदलीय बैठकले कफ्र्यु आदेश सहजताको लागि प्रशासनलाई आग्रह गर्ने निर्णय गरेको थियो । 

प्रशासनले कफ्र्यु खुकुलो बनाएसँगै जनजीवन सहज हुने अपेक्षा गरिएको छ । नयाँ कफ्र्यु आदेशले बिहान ६ बजेदेखि १० बजेसम्म र बेलुकी ४ बजेदेखि ६ बजेसम्म घरबाहिर सर्वसाधारणहरु हिडडुल गर्न सक्नेछन् । 

letang-karfue2

शिक्षा बिकास माबिका शिक्षक मनोज पौडेलले होली पर्वको दिन घरमा पुगेर एक छात्रालाई दुव्र्यवर गरेको घटनाले आइतबार स्कुलमा उग्ररुप लिएको थियो । विद्यार्थी र स्थानीय अभिभावकहरुको आन्दोलन चर्कदै गएपछि आरोपित शिक्षकलाई पक्राउ गर्न प्रहरी स्कुलमा गएको थियो । तर, स्थानीयबासीले आरोपित शिक्षक पौडेललाई मिलापत्र गराउन सक्ने आशंकाले प्रहरीको साथमा जान नदिएपछि घटनाले रुप लिदै गएको थियो ।

भिड नियन्त्रणबाहिर गएपछि दोहोरो झडप भएको थियो । राती भएको झडपमा स्थानीयले प्रहरी जवान उर्मिला श्रेष्ठलाई धारिलो हतियार प्रयोग गरि अक्रमण गरेको थियो । उनलाई उपचारको लागि अस्पताल लगिए पनि मृत्यु भएको थियो । उक्त घटना पछि प्रशासनले कफ्र्यु जारी गरेको थियो । 

सर्वदलीय बैठकले के के गर्यो निर्णय ?

letang-meeting

लेटाङ सभाहलमा नगर प्रमुख शंकर राईको अध्यक्षतामा भएको बैठकले  ४ बुदेँ निर्णय गरेको छ । बैठकले मृत्यु हुने प्रहरी जवान उर्मिला श्रेष्ठको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्ने तथा उक्त घटनामा घाइते भएकाहरुको उपचार, भौतिक संरचना पुर्निर्माणका लागि प्रदेश सरकार संघीय सरकार समक्ष अनुरोध गर्ने निर्णय गरेको छ । यस्तै पीडित पक्षलाई न्यायका लागि सबै पक्षले सहयोग गर्ने र घटनामा दोषी तथा अपराधमा संलग्न व्यक्तिहरुलाई कानूनी दायरामा ल्याई कानून बमोजिमको कारबाहीका लागि प्रशासनलाई आवश्यक सहयोग गर्ने पनि बैठकले निर्णय गरेको छ । 

कफ्र्यु आदेश सहजताको लागि प्रशासनलाई अनुरोध गर्ने निर्णय गरेको सोही बैठकले विद्यालयको पठनपाठन पूर्ववतरुपमा सञ्चालन गर्न सबैले आवश्यक समन्वय र सहयोग गर्ने पनि निणृय गरेको छ । यसैगरि, यसअघि लेटाङ नगरपालिका वडा नं. ८ को जाँते माविमा अध्ययनरत छात्रा करुणा राईको परिवारलाई आवश्यक राहतको लागि नेपाल सरकार समक्ष अनुरोध गर्ने निर्णय पनि बैठकले गरेको छ । लेटाङ नगरपालिका भौगोलिक रुपमा विकट र विपद् जोखिम क्षेत्रमा पर्ने भएकोले शान्ति सुरक्षा र उद्गार कार्य व्यवस्थित गर्न साथै पहाडी भूभाग र कच्ची बाटोमा समेत गस्ती तथा सुरक्षाका कार्यहरु गर्न उपयुक्त हुने सवारी साधन व्यवस्थाका लागि जिल्ला प्रशासन कार्यालय मोरङ मार्फत नेपाल सरकार गृह मन्त्रालयमा अनुरोध गर्ने पनि निर्णय भएको छ । 

letang-karfue1