धरान: धरानका जनतालाई खानेपानी खुवाउन नसकेको भन्दै खानेपानी बोर्डबाट मेयर र उपमेयरले राजिनामा गर्न नेकपा माओवादी केन्द्र धरान उपमहानगर समितिले माग गरेको छ । 

शुक्रबार दोस्रो पुर्ण बैठकले गरेको महत्वपुर्ण निर्णयहरु सार्वजनिक गर्दै माओवादी केन्द्र धरानले यस्तो माग गरेको हो । खानेपानी बोर्डको नेतृत्व गैरजिम्मेवार भएकोले धराने जनतालाई पानी खुवाउन असफल भएको भन्दै माओवादी केन्द्रले बोर्ड नेतृत्वबाट मेयर र उपमेयरले राजिनामा दिन माग गरेको हो । खानेपानी व्यवस्थापन बोर्डलाई व्यवस्थित बनाउन सुनसरी उद्योग वाणिज्य संघलाई नेतृत्व दिन पनि माओवादी केन्द्रले माग गरेको छ ।

माओवादी केन्द्रका अध्यक्ष सुर्यबहादुर भटट्राई (मनोज)ले लामो समयदेखि मेयर, उपमेयरले खानेपानी बोर्डको नेतृत्व गरेको र आजको दिनसम्म धारामा पानी पर्याप्त दिन नसकेको आरोप लगाए । साथै, पानी अभाव हुनुको कारण पनि मेयर, उपमेयरले प्रष्ट पार्न नसकेको बताए । माओवादी केन्द्रले बोर्ड नेतृत्व गरेका मेयर र उपमेयरले उल्टै आफ्ना पार्टीका कार्यकर्ता भर्ती गर्न ब्यस्त भएको पनि आरोप लगाएको छ ।  वडा नं १७ का अध्यक्षसमेत रहेका भट्टराईले आफुसहित बोर्डका केही सदस्यले चाडै राजिनामा दिने पनि बताए । विगत एक, डेढ बर्षदेखि बोर्डको अध्यक्ष रहेका मेयर तिलक राईले बैठकसमेत नराखेको र आफुहरु खानेपानी समस्या समाधान गर्न भुमिकाविहिन अवस्थामा रहेकोले सदस्य बस्नुको कुनै औचित्य नभएको बताए ।

maobadi 1

यस्तै, वीपी प्रतिष्ठानभित्र मौलाएको चरम अराजकता, भ्रष्टचार र विकृतिको कारण धरासायी भएको भन्दै माओवादी केन्द्रले धरानको मेयर, उपमेयर दुवै सिनेट सदस्य हुदा पनि यस्तो क्रियाकलाप नियन्त्रण गर्न भुमिका नखेलेको आरोप माओवादी केन्द्रले लगाएको छ । यस्तै, प्रतिष्ठानले सरकारबाट गरिएको स्वास्थ्य विमा सेवा स्थगित गर्ने निर्णय गरेकोप्रति पनि माओवादी केन्द्रले घोर आपत्ति व्यक्त गरेको छ । प्रतिष्ठानले जनताको सेवा बन्द गर्ने कार्य राजनीतिक प्रेरित भएको ठहर गर्दै माओवादी केन्द्रले सेवा निरन्तरता दिन र विमा सेवाको रकम भुक्तानी गर्न पनि सम्बन्धित निकायलाई माग गरेको छ । 

सर्दु खोलाको कालापानी र देवीथान क्षेत्रमा खोलाको बीच भागमा अतिक्रमण गरि बनाएको घरटहरा बनेको र नगर सरकार रमिते बनेकोप्रति पनि माओवादी केन्द्रले ध्यानाकर्षण भएको जनाएको छ । नयाँ घरटहरा बनेको र त्यसलाई हटाउने आडमा सुन्दरवस्तीलगायतको पुरानो बस्ती उठाउन खोजेकोप्रति पनि केन्द्रले विरोध जनाएको छ । कालापानी र देवीथान क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण र किनबेच भइरहेको भन्दै अध्यक्ष भट्टराईले समयमा नै मेयरलाई जानकारी गराउदा पनि चासो नदिएको बताए । 

भिडियो :

mao4

mao5