धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको खातामा स्वास्थ्य वीमा बोर्डबाट ३ करोड ५७ लाख बढी रकम जम्मा भएको छ ।

स्वास्थ्य विमा कार्यक्रम अन्तर्गत सेवा दिएवापत दाबी गरेको शोधभर्ना रकम मध्येबाट वीमा बोर्डले ३ करोड ५७ लाख ५१ हजार ७ सय ५४ रुपैया प्रतिष्ठानलाई पठाएको हो । वीमा बोर्डले चैत ६ गते नै भुक्तानीको लागि उक्त रकम पठाए पनि एक साता पछि आज (सोमबार) दिउँसो मात्र प्रतिष्ठानको खातामा जम्मा भएको हो । 

वीमा बोर्डका कार्यकारी निर्देशक डा.दामोदार बसौलाका अनुसार चैत ६ गते नै उक्त रकमको चेक तयार गरि प्रतिष्ठानको खातामा जम्मा गर्न बैंकमा पठाइएको थियो । तर, बैंकबाट प्रतिष्ठानको खातामा जम्मा हुन ढिलाई भएको उनले बताए । ‘हामीले निरन्तर ताकेता गरेपनि आज वीपीको खातामा रकम जम्मा भएको जानकारी पायौ,’उनले भने,‘यही हप्ताभित्र थप रकम पठाउछौ ।’ 

यता, प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलले पनि सोमबार दिउँसो उक्त रकम खातामा जम्मा भएको जानकारी दिए । उनले भने,‘हिजोअस्तिदेखि नै चर्चा सुनेका थियौ, तर प्रतिष्ठानको खातामा आज मात्र रकम जम्मा भएको जानकारी आएको छ ।’

वीमा बोर्डका अनुसार प्रतिष्ठानलाई शुरुवातदेखि हालसम्म ४९ करोड ३५ लाख २१ हजार ६५३ रुपैया भुक्तानी भइसकेको छ । चालु आर्थिक बर्षमा मात्र १५ करोड ७७ लाख ९० हजार २ सय ९७ रुपैया भुक्तानी भएको वीमा बोर्डको भनाई छ । 

'सबै रकम एकैपटक भुक्तानी गर्न सक्दैनौं'

ed-sir-photo

वीमा बोर्डका कार्यकारी निर्देशक डा.बसौलाले देशभरका ४४० वटा सेवा प्रदायक संस्था (अस्पताल)हरु भएकोले दाबी गरेअनुसारको सबै रकम कसैलाई पनि एकैपटक वीमा बोर्डले भुक्तानी गर्न नसक्ने बताए । 

सेवा प्रदायक सबै अस्पतालहरुको शोधभर्ना दाबी संकलन गरेर सबैलाई भुक्तानी दिनुपर्ने भएकोले कसैको पनि एकै चोटी भुक्तानी गर्न नसक्ने उनको भनाई छ । निजी अस्पतालहरुलाई भने भुक्तानी नियमितरुपमा दिइरहेको र सरकारी अस्पताललाई नदिएको आरोप सत्यता नभएको पनि उनले दाबी गरे । डा.बसौलाले भने,‘यो आरोपमा सत्यता छैन । यहाँ एकै पटक भ्यालुएशन हुन्छ, र एकै समयमा भुक्तानी हुन्छ । के सरकारी, के निजी, के ठुलो, के सानो अस्पताल सबैलाई एकै पटक भुक्तानी हुन्छ । कुनैलाई दिने, कुनैलाई नदिने हुदैन ।’

डा.बसौलाका अनुसार आइतबार (हिजो) वीमा बोर्डको बैठकमा वीपी प्रतिष्ठानको बिषयमा गम्भीररुपमा छलफल भएको थियो । उनले भने, ‘सबैको साझा संस्थान हो, त्यसैले त्यहाँको समस्या हल गर्ने सबैको दायित्व हो । बैठकमा कसरी सहजीकरण गर्न कसरी सकिन्छ भनेर गम्भीर छलफल भयो । सहजीकरण गर्न र समस्या समाधान गर्न लागेका छौ ।’ उनका अनुसार बोर्ड बैठकले देशभरिका सेवा प्रदायकहरुमा देखा परेको भुक्तानीको समस्या स्थायीरुपमा हल गर्न डा.भगवान कोइरालाको संयोजकत्वमा ५ सदस्यीय परामर्श समिति पनि गठन गरेको छ । 

bpkihs-bima-board1