धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले चैत १५ गतेदेखि स्वास्थ्य विमा कार्यक्रमको सेवा नरोक्ने भएको छ । 

प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीले आज (सोमबार) एक विज्ञप्ती जारी गर्दै अझै पनि समस्या समाधान नभएको खुलाएका छन् । तथापी, स्वास्थ्य विमाको उपचार सेवा एक महिनासम्म सुचारु हुने पनि उपकुलपति गिरीले जानकारी दिएका छन् । प्रतिष्ठानको आम्दानीको प्रमुख स्रोत महिनौंसम्म शोधभर्ना वापत प्राप्त नहुदा अस्पताल सञ्चालनमा कठिनाइ भएकोले बाध्य भएर सेवा बन्द गर्ने सुचना जारी गरिएको पनि उपकुलपति डा.गिरीले बताएका छन् ।

एक महिनासम्म उपचारको लागि आउने विरामीको स्वास्थ्य उपचार सेवामा कुनै पनि प्रकारको बाधा अवरोध सृर्जना हुन नदिई सुचारु हुने पनि उपकुलपति डा.गिरीले प्रष्ट पारेका छन् । साथै, प्रतिष्ठानको समग्र आर्थिक अवस्था, बाध्यतालाई मध्यनजनर गरि स्थानीय सरकार, नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रदेश सरकारबाट आवश्यक समन्वय गरि प्रतिष्ठान सञ्चालनमा सहयोग गर्न पनि उपकुलपति डा.गिरीले आग्रह गरेका छन् । 

प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलले विमा बोर्ड र सरोकारवालालाई पटक पटक आग्रह गर्दा पनि शोधभर्ना रकम भुक्तानी नभएपछि एक महिनाअघि नै चैत १५ गतेदेखि विमाको उपचार सेवा स्थगन गर्ने सुचना जारी गरिएको बताए । हालसम्म पनि शोधभर्ना रकम भुक्तानी नपाएको भन्दै उनले विमाको उपचार सेवा एक महिनासम्म नरोकिने बताए । तर, यो बीचमा सरोकारवाला निकायहरुले समस्या समाधानको लागि गम्भीरतापुर्वक भुमिका खेलिदिन उनले पनि आग्रह गरे । उनले भने, ‘सेवा एक महिनासम्म सुचारु हुन्छ । विमा बोर्डबाट पैसा आउनको लागि सबै सरोकारवालाहरुले भुमिका खेलिदिनुपर्यो ।’

bp-bima-board