धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य विमा सेवाबाट आम नागरिकलाई बञ्चित गरे जनता समाजवादी पार्टी धरान उपमहानगर समितिले कडा आन्दोलन गर्ने चेतावनी दिएको छ । 

पार्टीका अध्यक्ष ताजुब लिम्बुले आइतबार एक विज्ञप्ती जारी गर्दै प्रतिष्ठान आफैमा सरकारी स्वास्थ्य संस्था भएकोले कुनै पनि वहानामा नागरिकलाई स्वास्थ्य विमा सेवाबाट बञ्चित गरिए आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिएका हुन् । प्रतिष्ठानले चैत १५ गतेदेखि स्वास्थ्य विमा सेवा कार्यक्रम स्थगन गर्ने निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको पनि जसपाले जनाएको छ । 

नेपालकै ठूला मध्येको एक तथा पूर्वाञ्चलकै गौरवका रुपमा सञ्चालनमा रहेको प्रतिष्ठानलाई विभिन्न समयमा प्रतिष्ठानकै नेतृत्वहरुको असक्षमता र कमी कमजोरीले विवादित तथा आर्थिक रुपमा धरासायी, शैक्षिक गुणस्तरमा कमी र उपचार सेवामा पूर्णतासहितको गुणस्तर सेवा प्रदान गर्न नसकेर सेवाग्राहीहरुलाई ठूलो मर्का परिरहेको विज्ञप्तीमा उल्लेख छ ।नागरिकको पसिनाले कमाएको रकमबाट विमा शुल्क बुझाएर पाउँदै आइरहेको विमा सेवामार्फतको स्वास्थोपचार सेवा बिमा बोर्डबाट शोधभर्ना नगरेकै कारण बन्द गरिनु नेपाल सरकारको स्वास्थ्य विमा नीतिको विरुद्ध मात्र नभई गम्भीर अपराध भएको विज्ञप्तीमा उल्लेख छ ।

'यसले सरकार गरिव निमुखा नागरिकको समस्याहरुप्रति उदासिन भएको प्रष्ट पार्दछ । तसर्थ यस विषयमा गम्भीर भएर विमा रकम यथाशीघ्र शोधभर्ना गराई आम नागरिकहरुलाई अनिवार्य विमा सेवामार्फत उपचार सेवा प्रदान गर्ने वातावरण तत्काल निर्माण गर्न नेपाल सरकारसमक्ष हामी जोडदार माग गर्दछौ,' विज्ञप्तीमा भनिएको छ, 'साथै विमा वोर्ड र सरकारसँग विमा रकम प्राप्तिका लागि ताकेता गर्न छाडेर संविधानमा प्रदत्त नागरिकको स्वास्थोपचार सम्बन्धी मौलिक हक हनन हुनेगरी प्रतिष्ठानबाट नागरिकलाई उपचार सुविधाबाट बञ्चित गर्नखोज्नु प्रतिष्ठानको गलत कदम ठहर्दछ ।' 


यस्तो छ जनता समाजवादी पार्टी धरान उपमहानगर समितिको प्रेश विज्ञप्ती:

आम गरिव तथा निमुखा नेपाली जनताहरुको प्रत्यक्ष सरोकार रहने स्वास्थ्य जस्तो महत्वपूर्ण विषयमा वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको तर्फबाट मिति २०७८ साल चैत्र ९ गते सुचना जारी गरी चैत्र १५ गतेदेखि स्वास्थ्य विमा सेवा कार्यक्रम स्थगन गर्ने भनी सार्वजनिक जानकारी गराएको विषयप्रति यस जनता समाजवादी पार्टी धरान उपमहानगर समितिको गम्भीर ध्यानाकर्षण भएको छ ।
नेपालकै ठूला मध्येको एक तथा पूर्वाञ्चलकै गौरवका रुपमा सञ्चालनमा रहेको प्रतिष्ठानलाई विभिन्न समयमा प्रतिष्ठानकै नेतृत्वहरुको असक्षमता र कमी कमजोरीको कारण विवादित तथा आर्थिक रुपमा धरासायी, शैक्षिक गुणस्तरमा कमी र उपचार सेवामा पूर्णतासहितको गुणस्तर सेवा प्रदान गर्न नसकिरहेकाले सेवाग्राहीहरुलाई ठूलो मर्का परिरहेको छ । यस्तो अवस्थामा प्रतिष्ठानमा देखिएका सबै समस्याहरुको पहिचान गर्दै उपयुक्त समाधान खोजी प्रतिष्ठानबाट प्रदान हुने सबै सेवा सुविधाहरुलाई चुस्तदुरुस्त बनाउन नेपाल सरकारले गम्भीर रुपमा कदम चाल्नुपर्ने अवस्थामा नागरिकको पसिनाले कमाएको रकमबाट विमा शुल्क बुझाई पाउँदै आइरहेको विमा सेवामार्फतको स्वास्थोपचार सेवा सम्बन्धित बिमा बोर्डबाट शोधभर्ना नगरेका कारण विमा सुविधा बन्द गरिनु नेपाल सरकारको स्वास्थ्य विमा नीतिको विरुद्ध मात्र नभई गम्भीर अपराध नै हो भन्ने हाम्रो ठहर छ । यसले सरकार गरिव निमुखा नागरिकको समस्याहरुप्रति उदासिन भएको प्रष्ट 
पार्दछ । तसर्थ यस विषयमा गम्भीर भएर विमा रकम यथाशीघ्र शोधभर्ना गराई आम नागरिकहरुलाई अनिवार्य विमा सेवामार्फत उपचार सेवा प्रदान गर्ने वातावरण तत्काल निर्माण गर्न नेपाल सरकारसमक्ष हामी जोडदार माग गर्दछौ ।  साथै विमा वोर्ड र सरकारसँग विमा रकम प्राप्तिका लागि ताकेता गर्न छाडेर संविधानमा प्रदत्त नागरिकको स्वास्थोपचार सम्बन्धी मौलिक हक हनन हुनेगरी प्रतिष्ठानबाट नागरिकलाई उपचार सुविधाबाट बञ्चित गर्नखोज्नु प्रतिष्ठानको गलत कदम ठहर्दछ । यसले कसैको पनि भलो गर्दैन । 
अन्त्यमा, वी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान आफैंमा सरकारी स्वास्थ्य संस्था भएकाले कुनै पनि वहानामा नागरिलाई स्वास्थ्य विमा सेवाबाट बञ्चित गरिए जनता समाजवादी पार्टी धरान उपमहानगर समिति कडा आन्दोलनमा उत्रन वाध्य हुने र त्यसबाट सिर्जना हुने सबैखाले परिस्थितिको जवाफदेहिता सम्बन्धित पक्षले बेहोर्नुपर्ने अवगत गराउँदछौं ।
जय मातृभूमि !

......................
ताजुब कुमार लिम्बू
अध्यक्ष