धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बेथिती र अनियमितता बढेको भन्दै भित्रैबाट चिकित्सक, कर्मचारी, विद्यार्थीहरुले गएको असारदेखि निरन्तर आन्दोलन गरेका थिए । उक्त आन्दोलनमा धरानबासीहरुले पनि साथ दिए भने राजधानीमा पनि नागरिक अगुवाहरुले प्रतिष्ठान जोगाउन भन्दै आन्दोलन गरेका थिए । 

सोही आन्दोलनको वलमा सरकारको ध्यानाकर्षण भएर उच्चस्तरीय छानबिन समिति गठन भयो । समितिले पदाधिकारीहरुलाई कारबाहीको सिफारिश पनि गर्यो । तर, सरकारले विवादित पदाधिकारीहरुलाई हटाउन सकेको छैन । प्रतिष्ठान बचाउको लागि भएको लामो आन्दोलन पनि शिथिल भइसकेको छ । सरकारले सिनेट बैठक बोलाएर पदाधिकारीहरुलाई हटाउन खोजे पनि सर्वोच्च अदालतबाट अल्पकालिन अन्तरिम आदेश जारी भएको छ ।

आन्दोलन, सरकार, पदाधिकारी र सर्वोच्च अदालतको यो घनचक्करमा फसेको प्रतिष्ठान यतिबेला आर्थिकरुपमा धरासायी मात्र भएको छैन, उपचार सेवा पनि नराम्रो गरि खस्कदै गएको छ । गम्भीर विरामी लिएर प्रतिष्ठानको इर्मजेन्सीमा पुगेको विरामी होस् वा ओपिडी सेवामा गएका विरामी र तिनका आफन्त होस्, त्यहाँको अव्यवस्थाले उनीहरु निरिह हुनपुग्छन्, र एक दिन कटाउन पनि कठिन हुन्छ । छिटोछरितो र गुणस्तरीय उपचार सेवा पाउने आशामा पुगेका विरामीहरु अस्पतालको अस्तब्यस्ताले निराश हुन पुग्छन् । 

अन्तिम लडाई भन्दै झण्डै ८ महिना लामो प्रतिष्ठान भित्रैबाट उठेको आन्दोलनले पनि यहाँको अवस्थामा परिवर्तन ल्याउन सकेन । विगतमा पनि प्रतिष्ठान सुधारको लागि धरानमा पटक पटक आन्दोलन भएको थियो ।

यो पृष्ठभुमी रहेको वीपी प्रतिष्ठान र धरानमा पुनः घोपा बचाउ अभियानको नाममा आन्दोलन शुरु भएको छ । हामी नेपालको आह्वानमा स्वतःस्फर्तरुपमा शनिबारदेखि घोपा बचाउ आन्दोलन शुरु भएको हो । शनिबार पहिलो दिन भानुचोकमा भेला भएका धरानबासीहरुले ब्यानर, प्ले कार्डसहित र्याली निकालेका थिए । उनीहरु वीपी प्रतिष्ठानको डेन्टल कलेजको मेनगेट बाहिर पुगेर धर्नामा बसेका थिए । 

ghopa-bachau2

प्रशासनको कमजोरी, उपकरणको अभाव, बेड र औषधी, अत्यावश्यक स्वास्थ्य सामग्रीको अभावले विरामी र अस्पतालको दुर्दशा चरम उत्कर्षमा पुगेको भन्दै 'हामी नेपाल'को आह्वानमा घोपा क्याम्प बचाउ अभियान शुरु भएको हो । यो अभियानमा अधिकांश युवाहरु जोडिएका छन् । प्रतिष्ठानको बेथिती अन्त्य नभएसम्म अबदेखि हरेक दिन दिउँसो ४ बजे डेन्टल कलेज गेट अघि प्रर्दशन गरिने हामी नेपालले जनाएको छ । वीपी प्रतिष्ठानलाई घोपा क्याम्प भनेर पनि चिनिन्छ । 

के छ आन्दोलनको माग ?

घोपा क्याम्प बचाउ अभियानले विभिन्न ७ बुँदे माग अघि सारेको छ । प्रतिष्ठानको पदाधिकारीहरु नियुक्तको लागि मापदण्ड तोकेर सोही अनुसार सक्षम, प्रतिस्पर्धामा अब्बल व्यक्तिलाई नियुक्त गर्न अभियान तथा आन्दोलनको माग छ । 

पदीय जिम्मेवारी पुरा नगर्ने पदाधिकारी वा जिम्मेवार पदमा बसेकाहरु ले राजिनामा गर्न वा पदीय जिम्मेवारी अनुसार काम गर्न पनि आन्दोलनको माग छ । भ्रष्टहरुलाई कानुन अनुसार कडा कारबाही गर्न पनि माग गरिएको छ । 

ghopa-bachau1

उपचार सेवामा अत्यावश्यक पर्ने एमआरआई जस्ता उपकरणहरुको टेण्डर गरेर चाडो खरिद गरेर अस्पतालमा सेवा प्रभावकारी बनाउन पनि माग गरिएको छ भने हरेक तहमा अनुगमन गरेर भ्रष्टचार अन्त्य गर्न र पारदर्शिता अपनाउन पनि माग गरिएको छ । हरेक विभाग व्यवस्थितरुपमा सञ्चालन गर्न माग गरिएको छ भने फार्मेमी पुर्णरुपमा सञ्चालन गरेर आवश्यक पर्ने औषधीहरु सहजरुपमा उपलब्ध हुने वातावरण तयार गर्नुपर्ने पनि माग गरिएको छ । 

तस्बिर स्रोत: सामाजिक सञ्जाल फेसबुक