विराटनगर: नोबेल शिक्षण अस्पतालले आफ्नो अर्थोपेडिक विभागमा कार्यरत एक चिकित्सक मृत भेटिएको घटनाप्रति दुःख व्यक्त गर्दै अनुसन्धान गरि सत्यतथ्य पत्ता लगाउन माग गरेको छ । 

अस्पतालका निर्देशक डा.राजेश नेपालले आइतबार एक विज्ञप्ती जारी गर्दै शनिबार बिहान मृत भेटिएका डा. विजय कुमार यादवको मृत्युबारे अनुसन्धान गरी सत्यतथ्य पत्ता लगाउन गरेका हुन् । उनले डा.यादव लगनशील र मिलनसार स्वभावको भएको पनि उल्लेख गरेका छन् । अस्पतालका अनुसार डा.यादव २०७६ जेठ ६ गतेदेखि मेडिकल अफिसरकोरुपमा कार्यरत थिए । उनी सप्तरीको मलेखपुर ६ खुरखुरीयाका हुन् । 

डा.यादवको शव हिजो विराटनगर ४ स्थित आफू बस्ने घरको कम्पाउन्डमा शंकास्पद रुपमा भेटिएको थियो । उनी स्थानीय प्रेम बस्नेतको घरमा डेरा बस्दै आएका थिए । शनिवार बिहान करिव ६ बजे सोही घरको कम्पाउण्डभित्र आँगनमा घोप्टो परेर लडेको र शरीरबाट रगत बगिरहेको अवस्थामा उनी मृत भेटिएका थिए । डा.यादवको हत्या भएको भन्दै उनका परिवारका सदस्य, आफन्त तथा समर्थकले शनिवार दिउँसो नोबेल अस्पताल अगाडि टायर बालेर प्रदर्शनसमेत गरेका थिए । उनीहरुले डा.यादवको हत्या भएको दाबी गर्दै दोषी तत्काल पक्राउ गरी कारबाहीको दायरामा ल्याउन माग गरेका छन् । 

nobel1