धरान: धरान १४ विजयपुरस्थित बुढासुब्बा मन्दिरमा दर्शन गरेर फर्कदै गरेको *स्कोरपियो दुर्घटना भएको छ । 

दुर्घटनामा परि ड्राइभरसहित ९ जना तीर्थयात्री घाइते भएका छन् । एक जनाको हात भाँचिएको छ भने अन्यको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । ब्रेक फेल भएर घुम्ती बाटोमा बा ६ च ७२६८ नम्बरको स्कोरपियो दुर्घटना भएको धरान प्रहरीले जनाएको छ । उक्त स्कोरपियो ललितपुरबाट पाथीभरा दर्शन गरेर धरान आएको थियो । 

प्रहरीका अनुसार बुढासुब्बा मन्दिर दर्शन गरेर पिण्डेश्वर मन्दिरतर्फ जादै गरेको गाडी ब्रेक फेल भएर घुम्तीमा पल्टिएको हो । घाइतेहरुको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । घाइते हुनेमा राधिका पन्डित, लक्ष्मी पन्डित, मनोहर थापा, अन्जना थापा, शोभा खड्का, सुमन खड्का, अन्जना सिग्देल र लक्ष्मी प्रसाद आचर्य रहेका छन् । 

 *समाचारमा स्कोरपियो हुनुपर्नेमा सुमो भएकोले सच्याइएको छ । सम्पादक

तस्बिर: भरतराज शर्मा (गोपाल)