खोटाङ: खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका ७ मा विद्युतको नाङ्गो तारमा छुदा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । 

प्रहरीका अनुसार हिजो साढे ४ बजे उदयपुरबाट खोटाङको दिलैची मात्तिमबिर्ता तर्फ जाँदै गरेको ना ३ ख ७०३६ नम्बरको बसका धनी तथा कन्टेक्टर २६ बर्षीय प्रताप खड्काको करेन्ट लागेर मृत्यु भएको हो । उनले बसको छतबाट यात्रुको सामान झार्ने क्रममा विद्युतको नाङ्गो तारमा छोएका थिए ।

करेन्ट लागेर घाइते भएका उदयपुरको रौतामाई गाउँपालिका ४ घर भएका खड्कालाई तत्काल उपचारका लागि उदयपुर अस्पताल लगिएको थियो । उनलाई अस्पताल पुर्‍याउना साथ डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । बस चालक उदयपुरको त्रियुगा नगरपालिका १२ का यमराज कटुवाललाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ।