ओखलढुङ्गा: ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका ६ हर्कपुर स्थित सिद्दिचरण राजमार्गमा सवारी दुर्घटना हुँदा ३ जना प्रहरीको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । 

 आज (बुधबार) बिहान साँढे ८ बजे जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट प्रदेश प्रहरी कार्यालय बिराटनगर आउदै गरेको बा.१७ च १०९४ को डबल क्याप बोलेरो गाडी दुर्घटना भएको थियो । उक्त बलेरो सडकबाट १५० मिटर तल खस्दा प्रहरी हवल्दार भुपेन्द्र कार्की र प्रहरी जवान मानिक राजवंशीको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै, प्रहरी जवान रुपन बिष्टको उपचारको क्रममा नेपाल प्रहरी अस्पताल काठमाण्डौमा मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ । 

उक्त दुर्घटनामा प्रहरी निरीक्षक ऋषिराज ढकाल, प्रहरी सहायक निरिक्षक नवराज दाहाल, प्रहरी बरिष्ठ हवल्दार बिशाल श्रेष्ठ, भुपेन्द्र खनाल र चालक लिला प्रसाद खनाल घाईते भएका छन् । उनीहरुको स्थानिय मेडिकलमा उपचार पश्चात थप उपचारको लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाण्डौ लगिएको छ । प्रहरी नायब निरीक्षक धनराज खतिवडा मेडिकलमा उपचार पश्चात डिष्चार्ज भएका छन् । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।