धरान: धरानमा रहेको पेय पदार्थको २ वटा डिलरमा मंगलबार अनुगमन गरिएको छ । 

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय इनरुवा र धरान उपमहानगरपालिकाको संयुक्त टोलीले अनुगमन गरेको हो । अनुगमन टोलीले धरान १२ स्थित सगुन टे्रडर्स र धरान ८ स्थित पिडी ट्रेडर्सबाट विभिन्न १० प्रकारका पेय पदार्थको नमुना परीक्षणको लागि प्रयोगशाला पठाएको छ । उपमहानगरका अनुगमन अधिकृत वेदप्रसाद सापकोटाका अनुसार पेय पदार्थमा लेदो भेटिएको उपभोक्ताबाट गुनासो आएको थियो भने समाचार पनि प्रकाशित भएको थियो । 

उपभोक्ताको गुनासो पछि उपमहानगरको पहलमा खाद्य प्रविधि तथा गुण नियन्त्रणको टोलीसहित अनुगमन गरिएको सापकोटाको भनाई छ । ‘डिलरबाट नै थोक र खुद्रा पसलमा पुग्ने भएकोले २ ठाउँको डिलरमा गयौं, र १० वटा आइटमको नमुना परीक्षण गर्न प्रयोगशाला पठाएका छौ,’उनले भने । केही उपभोक्ताहरुले बिशेष गरि सिसिको २५० एमएलको पेय पदार्थमा ढुसी भेटिएको गुनासो गरेका छन् । अनुगमन टोलीका अनुसार पेप्सी, स्लाइस, कोक,इनर्जी ड्रिंक्स, फेन्टालगायतको १० आइटम परीक्षणको लागि पठाइएको छ । 

व्यवसायीहरुले कम्पनीबाट गाडीमा ल्याउदा हल्लाउदै आउने र ग्याँस लिकेज भएको थाहै नपाइने हुँदा चिनी ढुसी लाग्ने, र लेदो हुने भन्ने जवाफ दिएको सापकोटाले जानकारी दिए । अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय इनरुवाका प्रमुख काशीराज घिमिरे, खाद्य निरीक्षक सृजन जोशी, वादल चेम्जोंग, धरानका अनुगमन अधिकृत सापकोटा र नगर प्रहरी थिए ।