धरान: बराह सहकारीका अध्यक्ष मानबहादुर विश्वकर्माले बराह ग्रुपसँग ७ सय ५२ करोड बराबरको सम्पत्ति भएकोले कोही पनि नभाग्ने र ग्राहकहरुलाई धोका नदिने बताएका छन् ।

बराह सहकारी पीडित संघर्ष समितिको शनिबार भएको वृहत भेलालाई सम्बोधन गर्दै विश्वकर्माले यस्तो बताएका हुन् । उनले बराह ग्रुपका १५ वटा कम्पनी सञ्चालनमा रहेको जानकारी दिदै कम्पनी र सञ्चालकहरुको जायजेथा सम्पत्ति सबै गरि ५०३ करोड रहेको बताए । यस्तै, २४८ करोड खुद व्यापारमा नै सम्पत्ति रहेको भन्दै उनले सबै गरि ७५२ करोड सम्पत्ति बराहसँग भएको उनको दाबी थियो। 

baraha2

‘हामीसँग यत्रो व्यापार गर्ने ठाउँ छ । यत्रो श्रीसम्पत्तिलाई नगद बनाउन समय लागेको हो । न अहिले बैंकमा ऋण माग्न जादा दिन्छ, न सम्पत्ति बेचौं न भन्दा पैसा लिएर आउने कोही छ, यसको लागि समय दिनुस् भनेका हौं,’विश्वकर्माले भने,‘हामी भाग्दैनौं, मेरो निवेदन छ, भोलीदेखि नै संस्था खोल्ने वातावरण बनाइदिनुपर्यो । कोही सम्पत्ति बेच्ने टिम खटाइदिनुस्, ऋण उठाउन दिनुस् । हामीलाई अन्तिम मौका दिनुस्, गर्न सकेनौं भने भानुचोकमा गोली हानेर मारिदिनुस् । मर्न तयार छौं ।’

सम्पत्तिको सम्पुर्ण विवरण, अडिट रिपोर्ट स्थानीय सरकार धरान उपमहानगरपालिकामा बुझाइसकेको र त्यहाँबाट पनि छानबिन भइरहेको उनले बताए । बराह सहकारीका अध्यक्ष विश्वकर्माले संस्था कुनै हालतमा चलाउने र वचतकर्ताको लगानी फिर्ता गर्ने जिकिर गरे । संस्थासँग भएको चलअचल सम्पत्तिलाई बिक्रीवितरण गर्न, बैंक बित्तिय संस्थाबाट नगद व्यवस्थापन गर्न र ऋण लगानी भएको ठाउँबाट उठाउनको लागि ३ महिनाको समय माग गरेको पनि उनले प्रष्ट्याए । 

भिडियो:

भिडियो: