धरान: सफा र स्वच्छ धरान बनाउने मेयर हर्क साम्पाङको अभियानलाई देश विदेशबाट साथ र सहयोग आइरहेको छ ।

हाल युके निवासी ईशा गुरुङले करिब १ लाख बराबरको ३० वटा डस्विन सहयोग गरेकी हुन् । दाता गुरुङको घर भने पर्यटकीय नगरी पोखरा हो । सामाजिक कार्य तथा असहायहरुलाई सहयोग गरिरहने गुरुङले मेयर साम्पाङको कार्यशैली र अभियानबाट प्रभावित भएर डस्विन सहयोग गरेको उनका सम्पर्क व्यक्ति एवं धरानका व्यवसायी विमल उदासले जानकारी दिए । उनका अनुसार दाता गुरुङकै इच्छा अनुसार ३० वटा मध्ये २० वटा डस्विन धरानको २० वटै वडा कार्यालयमा राखिनेछ भने बाँकी १० वटा पर्यटकीय एवं धार्मिक स्थलहरुमा राखिनेछ । 

dusbin5

मेयर साम्पाङले दाता गुरुङलाई धन्यवाद दिदै उनकै चाहना अनुसार वडा कार्यालय र धार्मिक पर्यटकीय स्थलहरुमा राखिने बताए । उनले विदेशमा रहेका धरानबासी तथा नेपालीहरुलाई नगद नभै जिन्सि सामानहरु सहयोग गर्न आग्रह गरे । स्वच्छ, सफा र सुन्दर धरान बनाउनको लागि ब्रुमरको खाँचो भएको भन्दै मेयर साम्पाङले युकेमा रहेका नेपालीहरुसँग ब्रुमर खरीद गरेर सहयोग गर्न पनि बिशेष आह्वान गरे । साथै, मेयर साम्पाङले आफ्नो घर, कम्पाउण्ड अगाडि फोहोर जथाभावी नफाल्न र डस्विनमा राख्न पनि आग्रह गरे । 

मेयर साम्पाङलाई डस्विन हस्तान्तरण गरिसकेपछि दाताको सम्पर्क व्यक्तिसहित पर्यटकीय तथा धार्मिकस्थल पिण्डेश्वर, बुढासुब्बा, दन्तकाली, पञ्चकन्या, राम मन्दिर, विपी पार्कलगायत स्थलमा राखिएको थियो । 

आइएमई लाइफ इन्स्योरेन्सबाट पनि सहयोग

dusbin

मेयर साम्पाङलाई आइएमई लाइफ इन्स्योरेन्सका अभिकर्ताहरुले पनि मिलेर १० वटा डस्विन हस्तान्तरण गरेका छन् । 

धरान ९ आचार्यलाईनस्थित कम्पनीको कार्यालयमा बुधबार बिहान अभिकर्ताहरुले मेयर साम्पाङलाई डस्विन हस्तान्तरण गरेका थिए । मेयर राईले सहयोगप्रति आभार प्रकट गर्दै सबैको साथ सहयोगको आवश्यक भएको बताए ।