धरान: लायन्स क्लव अफ पञ्चकन्याले वराहक्षेत्र नगरपालिकामा रहेको पर्यटकीय गन्तव्य अमाह सिमसारमा विभिन्न प्रजातिका एक हजार वटा फलफुल र रुखको विरुवाहरु रोपेको छ । 

अमाह वन उपभोक्ता समुह र धरान सरोकार समाजको सहकार्यमा शनिवार वृक्षरोपण कार्यक्रम भएको हो । अमाह सिमसार धरान देखि करिव आठ किलोमिटर वराहक्षेत्र नगरपालिका ४ र ५ नम्बर वडामा पर्दछ । आन्तरिक पर्यटकहरुमाझ अमाह सिमसार चर्चित वन्दै गइरहेको छ । वन उपभोक्ता समितिले आन्तरिक पर्यटकलाई लक्षित गरेर सिमसार घुम्न आउनेहरुलाई मनोरञ्जनका लागि वोटिङ्ग, पिकनिक स्थल लगायतको निर्माण गरेको छ । 

lions1

       पर्यटकीयस्थलको रुपमा चर्चित रहेको अमाह सिमसार क्षेत्रमा परिवार संग घुम्न आउदा कुनै पनि जंङ्गली पशुपक्षीहरु नदेखे पछि स्थानीयसँग जिज्ञासा राख्दा पशुपक्षीको आहार हुने बोटविरुवा नभएको भन्ने थाह पाएपछि लायन्स पञ्चकन्या र अमाह वन उपभोक्ता समुह संग सहकार्य गरि फलफुलको विरुवासहित वृक्षरोपण गरिएको धरान सरोकार समाजका सल्लाहकार सरु जोशीले बताइन् । यसले नेपालमा वढ्दो जलवायु परिवर्तनको असरलाई पनि न्युनिकरण गर्नमा सहयोग पुग्ने उनको भनाई थियो । 

lions4

बृक्षरोपन कार्य कार्यक्रमका प्रमुख अतिथी डिस्टृक गभर्नर पिएमजीफ ३२५ धिरज गुरुङ्गले बिरुवा रोपेर सुरु गरेका थिए । वृक्षरोपण कार्यमा अम्वक, अमला, तितिरी, शिरिस, सजिवनी, किम्वु, वेल, अशोक, अर्जुन, रक्तचन्दन, पिपल, तेजपत्ता लगायत ३३ प्रजातिको विरुवा रोपिएको आयोजक लायन्स क्लव अफ पञ्चकन्याका अध्यक्ष एकता श्रेष्ठले बताइन । क्लवले लायन्स क्लवको सिद्धान्त अनुसार शिक्षा, स्वास्थ्य र वातावरण संग सम्वन्धित सामाजिक कार्यहरु गर्ने योजना रहेको कार्यकममा जानकारी गराइन् । क्लवले चाडै नै पैसाको अभावमा पढ्न नपाएकाहरुलाई लक्षित गर्दै वान रुपिस फर एजुकेशन अभियान सुरु गर्ने पनि उनको भनाई थियो । 

क्लवले यही विहिवार धरान १५ मा रहेको वमधारा खानेपानी मुहान संरक्षणका लागि ७ सय वटा फलफुलका विरुवा रोपेको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि राई , बराहक्षेत्र ५ नम्बर वडाध्यक्ष रोहित काफ्ले, अमाह बन उपभोक्ता समूह अध्यक्ष भोजराज घले, धरान सरोकार समाज अध्यक्ष प्रभु श्रेष्ठ, एमजेएफ लायन्स रेखा गुरुङ्ग, युवा समाजसेवी सम्राट श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।

तस्बिरहरु: बिकाश चाम्लिङ राई