धरान: केही दिनयताको निरन्तरको बर्षापछि आएको पहिरोले धरानको खानेपानीको प्रमुख स्रोत सर्दुमा पाइपलाई क्षति पुगेको छ । 

पहिरोले ३ ठाउँमा खानेपानीको पाइपमा क्षति पुगेपछि धरानको केही स्थानमा अहिले पनि पानीको समस्या भइरहेको धरान खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक राजु पोखरेलले जानकारी दिए । उनका अनुसार ३ ठाउँमा पहिरो गएर खर्दुको पाइपमा क्षति पुगेको थियो । विगत ५ दिनदेखि मर्मतको काम भइरहेको छ । ‘दुई ठाउँको पहिरोको काम सकियो, यहाँ एक ठाउँमा प्रतिकुल मौषमको कारण काम गर्न समस्या भइरहेको छ,’उनले भने,‘जेनेरेटर ल्याएका छौं । आज राती पनि काम गरेर सम्पन्न गर्ने लक्ष्य छ ।’

water-pipe1

उनका अनुसार पहिरोले क्षति पुगेको ८ इञ्चको पाइपले धरानको वडा नं १४ मा आपूति गर्न समस्या भएको छ । यस्तै, पुरानो बजारको केही क्षेत्र, घण्टाघर पछाडिको क्षेत्र र नयाँ बजारको पुर्वपट्टीको साइडमा खानेपानी समस्या भइरहेको छ । ‘यी क्षेत्रमा पानी पुर्याउन असहज भइरहेको छ । हामीले अन्यत्रको ट्यांकीबाट लिमिटेड पानी दिइरहेका छौं,’उनले भने,‘वैकल्पिक अन्यत्रको पानी व्यवस्थापन गरेर दिइरहेका छौ ।’ 

water-pipe2

अहिले पहिरो गएको ठाउँभन्दा केही तलबाट पानी ट्यापिङ गरेर लैजाने मेयर हर्क साम्पाङको योजना छ । सर्दु खोलाको इन्टेक निर्माण सकिएलगत्तै उक्त कार्य शुरु हुने पनि पोखरेलले जानकारी दिए । ‘यहाँ तलबाट पानी लैजान सक्यौ भने पहिरोले पनि क्षति पुग्दैन । मास्तिर पहिरोले समस्या हुँदा यहाँबाट वैकल्पिकरुपमा पानी लैजान सक्छौ,’उनले भने ।

मेयर साम्पाङ मंगलबार दिउँसो पहिरोले क्षति पुगेको क्षेत्रमा स्थलगत अवलोकन गर्न पुगेका थिए । कार्यालयमा बसेर समस्या नदेखिने भएकोले आफु फिल्डमै आएको उनले बताए । साथै, सुरक्षित भएर मर्मत कार्य चाडो सम्पन्न गर्न पनि उनले कर्मचारीहरुलाई निर्देशन दिएका थिए । 

भिडियो:


भिडियो: