धरान: मेयर हर्क साम्पाङले बराह सहकारी पीडितहरुको नाममा आइतबार आफ्नो कार्यकक्षमा तोडफोड गर्नेलाई कडा कारबाही गर्ने बताएका छन् । 

सामाजिक सञ्जाल फेसबुकमार्फत मेयर साम्पाङले बराह पीडितहरुलाई सम्बोधन गर्दै राजनीतिक आग्रह, पुर्वाग्रह बोकेर आउने व्यक्तिहरुको पछि लागेर काममा बाधा पुग्ने गरि घेराउ गर्न नआउन पनि पीडितहरुलाई अपिल गरेका छन् । उनले भनेका छन्,‘हिजो कार्यकक्षमा तोडफोड, गालीगलौज गर्ने घटनाको अगुवाई गर्ने व्यक्तिलाई कडा कारबाही गरिनेछ । दण्डहिनता हुन दिनेछैनौ । कानुनी राज्य छ, र विधिको शासन पालना हुन्छ ।’

नगरपालिकाले गर्नुपर्ने काम सबै गरेको भन्दै भिजिलान्तेहरुको पछि लागेर घेराउ गर्ने, गालीलगौज गर्ने गरि राजनीतिक आग्रह, पुर्वाग्रह बोकेर आउने व्यक्तिको पछि नलाग्न पनि मेयर साम्पाङले सचेत गराएका छन् । होहल्ला, बाधा व्यवधान गर्न आइरहदा सरकार आफ्नो बाटोमा अघि बढ्ने पनि उनले बताए । ‘हामीले आफ्नो क्षेत्राधिकारको काम गरिसकेका छौं । निर्णय भइसकेको छ । अनावश्यक होहल्ला गर्न नआइदिनुहोला,’ मेयर साम्पाङले भनेका छन् ।

उपमहानगरपालिकाले पीडितहरुलाई न्याय दिलाउनको लागि आफ्नो अधिकारले भ्याएसम्म निर्णय गरिसकेको भन्दै मेयर साम्पाङले फोहोरी राजनीतिमा नपर्न पनि अपिल गरेका छन् । उनले हिजो आइतबार भएको घेराउ, नाराबाजी र तोडफोड राजनीतिक षडयन्त्र भएको पनि बताए । पीडित भनिएका केही व्यक्तिहरुले पीडितहरुलाई उक्साउने, गालीगलौज गराउने, घेराउ गराउने गरेको भन्दै मेयर साम्पाङले वास्तविक पीडितहरुलाई अराजक गतिविधिमा नलाग्न पनि सचेत गराएका थिए । सहकारीको समस्या हेर्ने आफु पहिलो मेयर भएको भन्दै उनले जनताको पीरमर्का बुझेर नै आएकोले आफुले समस्या हल गर्न हरेक कुरा सुनेर मान्दै गएको पनि बताए । 

यद्यपी, पीडितहरुको नाममा कर्मचारीहरुलाई थर्काउने, अनावश्यक तनाव दिने काम भइरहेको पनि मेयर साम्पाङले बताए । उपमेयर अइन्द्रबिक्रम बेघालाई झनै धेरै दबाब दिइरहेको पनि उनले बताए । हिजो आइतबारबाट सहकारीको माथिल्लो निकायको व्यक्तिहरु बोलाएर बराह सञ्चालकहरुको सम्पत्ति रोक्का गर्ने प्रक्रिया शुरु गर्ने पहिलो बैठक बस्ने क्रममा काममा बाधा पुर्याउने गरि घेराउ, नाराबाजी गरेको पनि बताए । 

भिडियो: