धरान: कुनै कारण नै नबताइ नेकपा एमालेबाट निवार्चित वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले बैठक बहिष्कार गरेका छन् । 

एमालेले बैठक बहिष्कार गरेपछि आज दिउँसो १ बजेको कार्यपालिका बैठक एजेण्डामा प्रवेश नगरी स्थगित भएको छ । धरानको कार्यपालिकामा एमालेको बहुमत छ । बैठक शुरु हुँदा भने एमालेका कार्यपालिका सदस्यहरु उपस्थित भएका थिए । नयाँ प्रमुख प्रशासकीय अधिकृत आएको कारण शुरुवातमा परिचयात्मक कार्यक्रम राखिएको थियो । सबैले परिचय गरिसकेपछि वडा नं १५ का वडाअध्यक्ष एवं एमाले संसदीय दलका नेता नरेश इवारमले बैठक स्थगित गरेर अर्को पटक राख्न आग्रह गरेका थिए ।

उनले बैठक स्थगित गर्न भनेपछि मेयर हर्क साम्पाङले के कारणले स्थगित गर्नुपर्ने हो ? भनेर जवाफ मागे । तर, इवारमले कुनै जवाफ नदिई पुनः बैठक स्थगित गर्न भन्दै उठेर हिडेका थिए । उनी उठेर हिडेपछि क्रमशः एमालेका सबै उठेर बाहिरिए । 

baithak1

एमालेका कार्यपालिका सदस्यहरु सबै गएपनि कांग्रेस, माओवादी केन्द्र, स्वतन्त्र र राप्रपाबाट निवार्चित वडाअध्यक्षहरु भने बैठक हलमा बसेका थिए । वडा नं १७ का वडाअध्यक्ष सुर्यकुमार भट्टराई (मनोज) र वडा नं १६ का वडाअध्यक्ष मुरारी भट्टराईले एमालेले बैठक बहिष्कार गर्नुको कारण बताएर छलफल गर्नुपर्ने धारणा राखे । साथै, उनीहरुले बराह सहकारीसँग जोडिएर सामाजिक सञ्जालमा सामाजिक सद्भाव भड्काउने गरि आइरहेको टिकाटिप्पणीबारे गम्भीर हुन मेयरसहित सबै पक्षलाई आग्रह पनि गरेका थिए । 

मेयर साम्पाङले पनि आफु बराह पीडितहरुकै पक्षमा भएको दोहोर्याउदै आइतबारको घटनाबारे प्रष्ट्याएका थिए । साथै उनले आफु पनि सामाजिक सद्भाव बिथोल्ने नचाहने बताएका थिए । उपमेयर अइन्द्रबिक्रम बेघाले पनि कार्यपालिका बैठक रोक्नुपर्ने कुनै कारण नभएको प्रतिक्रिया दिए । बैठक रोकिदा महत्वपुर्ण एजेण्डाहरु प्रभावित भएको उनले बताए । 

भिडियो: