धरान: धरानका मेयर हर्क साम्पाङले आफ्नो कार्यकालको एक सय दिनमा भएको काम तथा उपलब्धीहरु सार्वजनिक गरेका छन् । 

आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत उनले १०० दिनमा के गरिस तैले ? भन्ने प्रश्न सोध्नेलाई मेरो उत्तर भन्दै १३ बुँदे कामहरु सार्वजनिक गरेका हुन् । गत बैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा मेयर साम्पाङले गठबन्धन र नेकपा एमालेका प्रतिस्पर्धीलाई हराउदै मेयरमा निवार्चित भएका थिए । उनको सय दिन कार्यकाल पुग्दै  गर्दा आमजनता, आलोचकहरुमाझ लेखाजोखा हुन थालेको छ । 

मेयर साम्पाङले पहिलो बुँदामा नेपालमा श्रम सँस्कृतिको क्रान्ति शुरु गरेको उल्लेख गरेका छन् भने दोस्रो बुँदामा ४ ठाउँबाट खानेपानीको मुहान थपेको उल्लेख गरेका छन् । यस्तै, व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जटाएको, ६ लाख विरुवा रोपेको, सरसफाईमा देखिने सुधार ल्याएको, प्रशासनिक सुधार ल्याएर शान्ति सुरक्षामा सुधार ल्याएको, जलविद्युतको सफल परीक्षण गरि बगरमा बत्ति बालेकोलगायत कामहरु उनले सार्वजनिक गरेका छन् । 

यस्तो छ मेयर साम्पाङले सार्वजनिक गरेको कामहरु:

१०० दिनमा के गरिस तँले ? भन्ने प्रश्न सोध्नेलाई मेरो उत्तर:

१) नेपालमा श्रम संस्कृतिको क्रान्ति शुरु गरें ।

२) ४ ठाउँबाट खानेपानीको मूहान थपें ।

३) व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाएँ ।

४) ६ लाख विरुवा रोपें ।

५) सरसफाइमा देखिने सुधार ल्याएँ ।

६) प्रशासनिक सुधार ल्याई शान्तिसुरक्षामा सुधार ल्याएँ ।

७) जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ति बालें ।

८) बाटो मर्मत संभार तथा टटबन्धन, विपद व्यवस्थापन ।

९) लागु औषध विरुद्धको अभियान शुरु गरें ।

१०) योजनाहरुका लागि बजेटको जोहो गराएँ ।

११) पारदर्शी हिसाब किताब सार्बजनिक गरें ।

१२) पालिकाका सेवामा तीब्रता र प्रष्टता ल्याइदिएँ ।

१३) शिक्षा, स्वास्थ्य संस्थाहरुमा सुधार ल्याएँ ।