धरान: सर्दु–निशाने खोला दोभानमा खानेपानी ट्यांकीको शिलान्यास गरिएको छ । 

गोर्खा पिस फाउण्डेशन युके र मेयर हर्क साम्पाङ सपोट कमिटी युकेको आर्थिक सहयोगमा निर्माण हुन लागेको ट्यांकीको शिलान्यास गरिएको हो । आइतबार मेयर साम्पाङ र दाता फाउण्डेशनका ट्रष्टी प्रतिनिधि प्रेमबहादुर लिम्बुले संयुक्तरुपमा ट्यांकीको शिलान्यास गरेका थिए । सोही अवसरमा फाउण्डेसनका प्रतिनिधि लिम्बु र मेयर साम्पाङबीच सम्झौता पत्रमा हस्ताक्षर र आदनप्रदान पनि गरिएको थियो । 

nishane2

यो ट्यांकी २ लाख १० हजार लिटर बढी क्षमताको हुने प्रोजेक्ट मेनेजर पुर्णप्रसाद लिम्बुले जानकारी दिए । उनका अनुसार अढाई लाख लिटर क्षमताको ट्यांकी निर्माण गर्ने योजना भएपनि प्राविधिक कारणले २ लाख १० हजार भन्दा केही बढी क्षमताको निर्माण हुने भएको छ । यसको लागत स्टिमेट ५५ लाख ९० हजार २३३ रुपैया अनुमान गरिएको छ । यो कुल लागतको ८८ प्रतिशत हो । नगरपालिका वा खानेपानी बोर्डबाट जनश्रमदान ११.८८ प्रतिशत अर्थात ७ लाख ४७ हजार ७ सय बराबरको हुने पनि लिम्बुले बताए । ‘लगायत कुल हिसाब गर्दा ६३ लाख ३६ हजार ९३६ रुपैया बराबरको हुन्छ,’उनले भने । दशैं तिहारलगायत चाडपर्व आउन लागेको कारण ३ महिनाभित्र निर्माण कार्य सकेर ट्यांकी हस्तान्तरण गरिने पनि उनले जानकारी दिए । 

nishane1

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मेयर साम्पाङले सबैको सहयोगबाट नै कामहरु अघि बढीरहेको भन्दै श्रमदानमा आउन युवाहरुलाई पनि आह्वान गरे । उनले खोलामा बगेर खेर गइरहेको पानीलाई स्टोर गरेर खुवाउने योजना अनुसार ४ वटा पाइपबाट पानी संकलन हुने पनि बताए । साथै, निर्माण कार्य सकिए पछि उक्त टंकीबाट १० इञ्चको पाइपले पानीलाई सहरसम्म पुर्याउने पनि बताए । फाउण्डेसनका प्रतिनिधि लिम्बुले यो ट्यांकी निर्माण भएपछि धरानलाई खानेपानीबाट केही टेवा पुग्ने विश्वास लिएको बताए । 

धरान खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक राजु पोखरेलले हिउदमा पनि पानी ल्याउन सक्नेसम्मको स्रोतबाट ट्यांकीमा पानी जम्मा गर्ने बताए । उक्त ट्यांकीबाट स्वास्तिका चोकमा रहेको ट्यांकीसम्म पानी पुर्याउने उनले बताए । अहिलेसम्म स्वास्तिका चोकमा जंगलबाट पम्पिङ गरेर मात्र पानी ल्याइरहेको भन्दै उनले भने,‘यहाँबाट सतहकै पानी लगियो भने धरान १०, १२, ११, १७, १८, १९ वडामा सपोर्ट हुन्छ । हिउँदमा पनि सपोर्ट पुग्छ ।’

भिडियो: