धरान: धरान उपमहानगरपालिका वडा नम्बर १५ निराजन टोलका युवाहरुले खत्रीधारा र बमधाराको मुहानमा शनिवार वृक्षारोपण गरेका छन् । 

निराजन टोलका युवाहरुको सक्रियतामा खत्रीधारा र बमधारा खानेपानीको मुहानमा विभिन्न फलफुलहरु अमला, तेजपता, मेवा, अम्बक, आँपको गरी ५ सय बिरुवा रोपेका हुन् । उक्त बिरुवा डिभिजन वन कार्यलय तिनकुने र स्थानीयले उपलब्ध गराएको थियो । खत्रीधारा र बमधाराको पानी ४ सय घरपरिवारले पिउदै आएका छन् । पानीको मुहान संरक्षणमा स्थानीयहरु बिगतदेखि नै श्रमदान गर्दै र बिरुवा रोप्दै आईरहेका छन् । 

बिहान ८ बजे देखि सुरु गरेर दिनको १२ बजे वृक्षारोपण कार्य सकिएको थियो। पानीको मुहानमा आम्दानी दिने फलफुलको बिरुवाहरु रोप्ने योजना रहेको निराजन टोलका अगुवा डम्बर बहादुर गुरुङ्गले बताए। बिरुवाहरु हुर्काउने कामको लागि निराजन टोलका युवाहरुले गोडमेल र घेराबारा गर्ने निराजन टोलका अगुवा कैलाश राईले बताए। उक्त वृक्षरोपण कार्यमा करिब ५० जना युवाहरु सहभागी थिए।