धरान: प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई मातृशोक परेको छ । 

उनकी आमा धनकुमारी राईको ८४ वर्षको उमेरमा आज (सोमबार) बिहान १० बजेर २५ मिनेटमा विराटनगरमा निधन भएको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ । स्वास्थ्य समस्या जटिल बन्दै गएपछि विराटनगरस्थित मोरङ सहकारी अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको थियो । मृतक श्वासप्रश्वासलगायतका समस्याबाट ग्रसित रहेको परिवारजनले जानकारी दिएको छ । मृतकको पार्थीव शरीरलाई श्रद्धाञ्जलीका लागि मोरङ सहकारी अस्पतालकै प्राङ्गणमा राखेर आजै अन्तिम संस्कारका लागि भोजपुर लगिने पनि प्रेस सल्लाहकार बन्धु पोखरेलले जनाएका छन् । 

मुख्यमन्त्री राई र उनको अभिभावकको स्थायी बसोबास भोजपुर जिल्लाको षडानन्द नगरपालिका वडा नम्बर ११, झ्याउँपोखरी हो । मृतक राई वि.सं. १९९५ सालमा भोजपुर जिल्लाको तिम्मा गाउँमा जन्मिएकी थिइन् । मृतकको कान्छा छोरा मुख्यमन्त्री राई हुन् भने उनको तीन छोरा र एक छोरी छिन् । मृतकको परिवारमा श्रीमान् नरेन्द्रबहादुर राई, जेठा छोरा रामकुमार राई, माहिला छोरा ध्यानकुमार राई र छोरी मालादेवी राई पनि छन् ।