धरान: मंसिर ४ गतेको निर्वाचनको लागि नेकपा एमालेले सुनसरी क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य (संघीय सांसद) मा सर्वसम्मत उम्मेद्वार सिफारिश गरेको छ । 

धरानस्थित पार्टी कार्यालयमा आज बसेको क्षेत्रीय समन्वय कमिटी बैठकले प्रतिनिधिसभा सदस्यमा जयकुमार राईलाई सर्वसम्मत सिफारिश गर्ने निर्णय गरेको समन्वय समिति संयोजक मीनकुमार सुब्बाले जानकारी दिए । उनका अनुसार बैठकमा अन्य केही नेताहरुको पनि नाम प्रस्ताव भएको थियो । तर, बैठकले प्रत्यक्षतर्फ सांसद राईको नाम सर्वसम्मतरुपमा सिफारिश गरेको उनले बताए । राई अहिले पनि क्षेत्र नं १ का संघीय सांसद छन् । उनले २०७५ को निर्वाचनमा कांग्रेस र जसपाको गठबन्धन उम्मेद्वार अशोक राईलाई  भारी मतान्तरले पराजित गरेका थिए । 

यसैगरि, बैठकले प्रतिनिधिसभातर्फ समानुपातिकमा खम्बासिंह गुरुङ र नरमाया परियारको नाम सिफारिश गरिएको समन्वय समिति संयोजक सुब्बाले जानकारी दिए । उनका अनुसार क्षेत्र नं १ प्रदेशसभा (क) र (ख) मा भने उम्मेद्वारका आकांक्षीहरु धेरै भएकोले सबैको नाम जिल्ला कमिटीमा सिफारिश गर्ने निर्णय भए अनुसार नै नाम पठाइएको छ । ‘प्रदेशसभा क र ख मा प्रत्यक्ष, समानुपातिकमा धेरै आकांक्षीहरु भएकोले सबैको नाम नै पठाउने निर्णय भएको छ,’उनले भने ।