धरान: चिकित्सा क्षेत्रमा उल्लेख्य योगदान गरेको भन्दै वीपी कोइराल स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानकी प्रा.डा.बसुधा खनाल राष्ट्रपतिबाट सम्मानित भएका छन् ।

उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले वुमन इन मेडिसिन इन नेपाल २०२२ अवार्डबाट सम्मानित गरेकी हुन् । नेपालको चिकित्सा क्षेत्रका विभिन्न विधामा महिला डाक्टरले गरेको योगदानको कदर स्वरुप यो अवार्ड प्रदान गरिएको हो । राष्ट्रपति भण्डारीले प्रा.डा.खनालससहित १५ जना महिला डाक्टरहरु सम्मानित भएका छन् ।

डा.खनाल प्रतिष्ठानको माइक्रोबायोलोजी विभागकी प्राध्यापक हुन् । माइक्रोबायोलोजिको क्षेत्रमा मोफसलमा रहेर लामो समयसम्म शिक्षा, अध्ययन, अनुसन्धान र चिकित्सा सेवामा गरेको योगदानको कदर स्वरुप उनी सम्मानित भएकी हुन् । डा. खनाल धरानमा जन्मिएर, धरानबाटै विद्यालय र विश्वविद्यालय तर्फ आइ.एस्सि.सम्मको अध्ययन गरेकी थिइन् । तत्कालीन छात्रातर्फको उच्चतम अंक प्राप्त गरे वापत उनी ऐश्वर्या विद्यापदकबाटसमेत विभुषित भएकी थिइन् । 

नेपाल सरकारको छात्रावृत्ती कार्यक्रम मार्फत डा. खनालले पाकिस्तानवाट एमबिबिएस अध्ययन गरेर आएपछि प्रतिष्ठानमा मेडिकल असिफर पदबाट सेवा शुरु गरेकी थिइन् । डा. खनालले प्रतिष्ठानको शिक्षक जनशक्ति बिकास कार्यक्रम मार्फत माइक्रोबायोलोजी विषयमा स्नातकोत्तर (एमडि)मा गोल्ड मेडल प्राप्त गरेकी थिइन् । उनले प्रतिष्ठानमा प्राध्यापक तथा माइक्रोबायोलोजी बिभागको प्रमुखमा रहीसकेकी छिन् ।

उनले कालाजार, एन्टिबायोटिक प्रतिरोधात्मक क्षमताका ब्याक्टेरिया लागायतका क्षेत्रमा समेत अनुसन्धान गरेकी छिन् भने हाल नेपाल क्लिनिकल माइक्रोबायोलोजी एसोसिएसनको अध्यक्षको जिम्मेवारी समेत निर्वाह गरिरहेकी छिन् ।